काठमाडौं । मापदण्डभन्दा कम तौल भएको सनफ्लावर तेल प्याकेजिङ गरी बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक उद्योग सञ्चालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१३ पाटन घर भएका ४२ वर्षीय विजय श्रेष्ठ रहेका छन् । उनी हाल गोदावरी नगरपालिका–५ लेलेस्थित ओमकार आयल इन्डस्ट्रिज प्रालिका सञ्चालक हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको बताएको छ ।
ललितपुरको गोदावरी नगरपालिका–५ लेलेस्थित ओमकार आयल इन्डस्ट्रिज प्रालिबाट उत्पादन हुने ‘छहरा’ र ‘ओमकार’ ब्राण्डका १ लिटर तथा ५०० मिलिलिटर सनफ्लावर तेलमा तोकिएको मापदण्डभन्दा कम तौल रहेको फेला पारेपछि उद्योग सञ्चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले विभिन्न स्थानमा भण्डारण गरी राखिएको तेल बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार गोदावरी–५ लेलेस्थित महादेव खोलाबाट २०० कार्टुन, महालक्ष्मी नगरपालिका–४ इमाडोलबाट ५३० कार्टुन तथा ललितपुर महानगरपालिका–५ थसिखेलबाट १७५ कार्टुन ‘छहरा’ र ‘ओमकार’ ब्राण्डका सनफ्लावर तेल बरामद गरिएको हो ।

बरामद गरिएको कुल परिमाण ९०५ कार्टुन रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका श्रेष्ठ तथा बरामद सामानलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको छ ।
