काठमाडौं । भक्तपुरको भक्तपुर न.पा.-१ नगरकोटमा गएराती सामान्य विवादका क्रममा भएको झैँ-झगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ ।
महोत्तरीको मिथिला नगरपालिका-९ घर भई हाल नगरकोटमोड बस्ने २८ वर्षीय आकाश रसाइलीमाथि चक्कु प्रहार भएको हो । गम्भीर घाइते भएका रसाइलीलाई उपचारका लागि केएमसी अस्पताल सिनामंगल पठाइएकोमा आज बिहान उपचारकै क्रममा मृत्यु भएको थियो ।
चक्कु प्रहार गर्ने उदयपुर त्रियुगा नगरपालिका-१३ घर भई हाल भक्तपुर सल्लाघारी बस्ने ३१ वर्षीय आयुष कार्की, झापा दमक नगरपालिका-३ घर भई हाल सल्लाघारी बस्ने २७ वर्षीय दोर्जे शेर्पा र गुल्मी तम्घास घर भई हाल सल्लाघारी बस्ने ३५ वर्षीय रमेश कुँवरलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।