कैलाली । कैलालीको भजनी नगरपालिका–५, मिलनपुरमा बोक्सीको आरोप लगाएर एक महिला र उनकी नातिनीमाथि कुटपिट गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार कात्तिक १० गते राति ९ बजे आफ्नै घरमा बसिरहेकी ५६ वर्षीया हसना देवी डगौरा र उनकी नातिनीमाथि कुटपिट भएको थियो। कुटपिटमा संलग्न रहेको आरोपमा स्थानीय ५६ वर्षीय कृष्ण डगौरा, २९ वर्षीय राजु डगौरा, २२ वर्षीय राजन डगौरा र भजनी नगरपालिका–७ की ३५ वर्षीया उर्मिला डगौरालाई पक्राउ गरिएको हो ।
कुटपिटबाट पीडित महिला र उनकी नातिनीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
पीडितले कात्तिक ११ गते दिउँसो इलाका प्रहरी कार्यालय भजनीमा जाहेरी दिएपछि चारै जनालाई पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।