काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा प्युठानको सरूमारानी गाउँपालिका-१, बांगेसारका ३१ वर्षीय समीर अहमद र खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-५ का ३० वर्षीय देवराज खत्री छन् ।
प्रहरीले सोमबार विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो ।
हिमालय एअरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएका समीरको साथ करिब ५४ ग्राम सुनको एक ढिक्का, बेरूवा औंठी र एउटा मोबाइल बरामद भएको छ ।
यस्तै बाह्य मुलुकबाट नेपाल आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा संकलन गरेर लैजान लागेको सुनसहित देवराज पक्राउ परेका हुन् । उनीबाट करिब २५ ग्राम तौलको सुनको सिक्री, दुई वटा मोबाइल र एउटा ल्यापटप बरामद भएको छ ।
पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS