काठमाडौं । युके र क्यानडामा आकर्षक वैदेशिक रोजगारी दिलाइदिने भन्दै ११ करोड रुपैयाँभन्दा बढी रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भक्तपुरको भक्तपुर नगरपालिका–२ बस्ने ४४ वर्षीय रवीन्द्र बासुकला, काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर बस्ने मोरङ रतुवामाई नगरपालिका–१० घर भएका ४४ वर्षीय लक्ष्मण पराजुली र काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्ने धनुषा सबैला नगरपालिका–१२ घर भएका ४७ वर्षीय अरूण राज शर्मा छन् ।
पक्राउ परेकामध्ये रवीन्द्रले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट ५ लाख ६० हजार रूपैयाँ तथा लक्ष्मण र अरूणले युके पठाइदिन्छु भन्दै ३८ जना पीडितहरूबाट ११ करोड ६ लाख ९७ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रवीन्द्रलाई भक्तपुर नगरपालिका–२ ब्यासीबाट सोमबार तथा लक्ष्मण र अरूणलाई काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट आइतबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS