काठमाडौं । नासाको आर्टेमिस–२ चन्द्र अभियान सफलतापूर्वक सम्पन्न भएको छ । १० दिनको यात्रापछि चार अन्तरिक्ष यात्री सुरक्षित रूपमा पृथ्वीमा फर्किएका हुन् । उनीहरू सवार ओरियन अन्तरिक्षयान प्रशान्त महासागरमा अवतरण भएको हो । यो अवतरण क्यालिफोर्नियाको सान डिएगो नजिक समुद्रमा भएको थियो ।
यो अवतरणसँगै आधा शताब्दीभन्दा बढी समयपछि गरिएको मानवसहितको चन्द्र यात्राको ऐतिहासिक अध्याय पूरा भएको छ । चार सदस्यीय टोलीले चन्द्रमाको त्यस्तो भाग अवलोकन गरेका थिए, जहाँ यसअघि कुनै पनि मानव पुगेका थिएनन् । साथै उनीहरूले पूर्ण सूर्यग्रहणसमेत अन्तरिक्षबाट अनुभव गरेका थिए ।
मिशनमा कमाण्डर रिड वाइजम्यान, पाइलट विक्टर ग्लोभर, क्रिस्टिना कोच र क्यानडाका जेरेमी ह्यान्सेन सहभागी थिए । पृथ्वीमा फर्किने क्रममा उनीहरूको गति ध्वनिको गतिभन्दा ३३ गुणा बढी रहेको थियो । ‘इन्टेग्रिटी’ नामको क्याप्सुल स्वचालित रूपमा समुद्रमा अवतरण भएको थियो । पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा क्याप्सुल अत्यधिक तापयुक्त ग्यासले घेरिएको थियो र केही समय सम्पर्कसमेत विच्छेद भएको थियो ।
सान डिएगो नजिकै उद्धार टोली पहिले नै तयारी अवस्थामा राखिएको थियो । जहाज र हेलिकप्टरसहितको टोलीले अवतरण लगत्तै अन्तरिक्ष यात्रीलाई सुरक्षित रूपमा बाहिर निकालेको थियो ।
सन् १९७२ पछि चन्द्र अभियानबाट मानवको यस्तो प्रत्यक्ष फिर्ती पहिलो पटक भएको हो । यो अभियान अप्रिल १ मा फ्लोरिडाबाट प्रक्षेपण गरिएको थियो। यद्यपि यसले चन्द्रमामा अवतरण गरेन, तर पृथ्वीबाट अहिलेसम्मकै सबैभन्दा टाढा दूरी तय गर्दै नयाँ कीर्तिमान कायम गरेको छ । अन्तरिक्ष यात्रीहरू करिब २ लाख ५२ हजार माइलसम्म पुगेका थिए, जुन अघिल्लो रेकर्डभन्दा अगाडि रहेको नासाले जनाएको छ ।

नासाका अनुसार यो अभियानले गहिरो अन्तरिक्षमा मानव उपस्थितिको नयाँ चरण सुरु गरेको छ । आगामी दिनमा चन्द्रमामा दीर्घकालीन बसोबास स्थापना गर्ने योजनाका लागि यो महत्वपूर्ण आधार बनेको बताइएको छ ।
