काठमाडौँ । अमेरिकी अन्तरिक्ष निकाय नासाको आर्टेमिस– २ मिशनमा अन्तरिक्ष यात्रीहरूले अनौठो उपकरण साथ लगेका छन् ।
यो उपकरण देख्दा सामान्य स्मार्टफोनजस्तै, विशेष गरी आईफोन १७ प्रो म्याक्स जस्तै देखिने भएकाले धेरैलाई चासो लागेको छ ।
५० वर्षभन्दा बढी समयपछि चन्द्रमातर्फ मानवसहित पठाइएको आर्टेमिस– २ पहिलो अभियान हो । यसअघि भएका परीक्षण उडानभन्दा फरक, यसमा अन्तरिक्ष यात्री प्रत्यक्ष रूपमा सहभागी छन् । करिब १० दिनको यस अभियानमा टोलीले चन्द्रमाको परिक्रमा गरेर पुन: पृथ्वी फर्कने योजना बनाइएको छ । भविष्यमा मानवलाई चन्द्रमामा अवतरण गराउने तयारीका लागि आवश्यक प्रणाली परीक्षण गर्नु यसको मुख्य उद्देश्य हो ।
यस अभियानमा स्मार्टफोनजस्तो उपकरण लैजानुको कारण प्रयोगमा सहजता र राम्रो अभिलेखीकरण मानिएको छ । भारी र जटिल उपकरणको तुलनामा यस्तो उपकरण चलाउन सजिलो हुन्छ ।
अन्तरिक्ष यात्रीहरूले यसमार्फत उच्च गुणस्तरका फोटो र भिडियो खिच्न, महत्वपूर्ण क्षणहरू रेकर्ड गर्न तथा अन्तरिक्ष यानभित्रका गतिविधि कैद गर्न सक्नेछन् । तर, अन्तरिक्षमा यसको प्रयोग पृथ्वीमा जस्तो सामान्य छैन ।

सुरक्षाका कारण यी उपकरणहरू पूरै यात्राभर ‘एयरप्लेन मोड’ मा राखिनेछ । किनकि स्मार्टफोनबाट निस्किने संकेतले अन्तरिक्ष यानका संवेदनशील प्रणालीमा असर पार्न सक्छ । त्यसैले नेटवर्क बन्द गरेर यसलाई केवल क्यामेरा र रेकर्डिङ उपकरणको रूपमा मात्र प्रयोग गरिने नासाले बताएको छ ।

यद्यपि उपकरण बाहिरबाट सामान्य देखिए पनि यसको प्रयोग कडाइका साथ नियन्त्रण गरिएको छ । नासाले यी उपकरण विशेष रूपमा परिमार्जित हुन् वा सामान्य बजारमै पाइने प्रकारका हुन् भन्ने स्पष्ट खुलाएको छैन । तर एउटा कुरा स्पष्ट छ, सामान्य प्रयोगका साना तर शक्तिशाली प्रविधि अब अन्तरिक्ष अभियानसम्म पुग्न थालेका छन् ।

यसले दैनिक जीवनमा प्रयोग हुने प्रविधि कति उन्नत भइसकेको छ भन्ने देखाउछ । यद्यपि, यस्ता उपकरणहरू कडा नियम र निगरानीमा मात्र प्रयोग गरिने भएकाले अन्तरिक्ष यात्रामा सुरक्षा नै सबैभन्दा ठूलो प्राथमिकता रहने बताइएको छ ।