काठमाडौं । मुलुकको अर्थतन्त्र एक वर्षको अवधिमा ४ खर्ब रुपैयाँले बढेकाे छ।
अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षमा ५७ खर्ब रुपैयाँ बराबरको रहेको देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) चालु आर्थिक वर्षमा बढेर ६१ खर्ब रुपैयाँ पुगेको हो ।
मन्त्रालयका अनुसार राजस्व संकलन पनि एक वर्षमा १ खर्ब ८ अर्ब रुपैयाँले बढेको छ भने पुँजीगत खर्च गत वर्षको तुलनामा ३६ अर्ब रुपैयाँले वृद्धि भएको छ ।
निजी क्षेत्रमा प्रवाहित कर्जा ८ दशमलव ७ प्रतिशतले बढेको छ, जुन अघिल्लो वर्ष ५ दशमलव ६ प्रतिशतले मात्रै बढेको थियो।
रेमिट्यान्स आप्रवाह पनि १५ दशमलव ५ प्रतिशतले वृद्धि भएको देखिएको छ।
निर्यात ७७ दशमलव ८ प्रतिशतले बढ्दा आयात १३ दशमलव १ प्रतिशतले बढेको मन्त्रालयको तथ्यांकले देखाएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयको सर्वेक्षणलाई आधार मानेर अर्थ मन्त्रालयले सार्वजनिक गरेका सूचकांकअनुसार यातायात, निर्माण, खानी, विद्युत तथा ग्यास, व्यापार, बैंक तथा बीमा, उद्योग, घरजग्गा, सूचना प्रविधि, कृषि तथा वन, प्रशासनिक तथा स्वास्थ्य सेवा, वैज्ञानिक सेवा, औद्योगिक उत्पादन, शिक्षा, आवास तथा भोजन लगायतका १८ वटा क्षेत्र सकारात्मक अवस्थामा छन्।
अर्थ मन्त्रालयका अनुसार नीतिगत तथा कानुनी सुधारले लगानीमैत्री वातावरण विस्तार भएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) ऐन, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐन संशोधन, निजीकरण (पहिलो संशोधन) ऐन, २०८१, भन्सार महसुल ऐन, बैंकिङ कसुर तथा सजाय ऐन, २०८२ लगायतका कानुनी सुधारका काम अघि बढाइएकाे छ ।
त्यस्तै वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधि सभामा पेश हुनु, उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोग गठन र प्रतिवेदन कार्यान्वयन, निजी तथा निर्माण क्षेत्रका गुनासा सुनुवाइ, अघिल्लो वर्षका भुक्तानी दायित्वमध्ये ३० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी हुनुजस्ता गतिविधिलाई मन्त्रालयले उपलब्धिका रूपमा हेरेको छ ।
तर मन्त्रालयका अनुसार लक्ष्यअनुसार राजस्व संकलन, पुँजीगत खर्चमा थप वृद्धि, ग्रे लिस्टबाट बाहिरिने जस्ता चुनौती भने अर्थतन्त्रमा अझै कायम छन्।
FACEBOOK COMMENTS