काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व चुहावट नियन्त्रणमा प्रभावकारीरुपमा लाग्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
राजस्व सङ्कलनको विद्यमान अवस्था र राजस्व चुहावट नियन्त्रणका सम्बन्धमा अर्थ मन्त्रालयमा आयोजित केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा दुई मन्त्रालयबीच प्रभावकारी समन्वय कायम गर्दै स्थानीय संयन्त्रलाई सक्रिय बनाई राजस्व परिचालनलाई प्रभावकारी बनाउनसमेत निर्देशन दिएका हुन् ।
बैठकमा गृहमन्त्री श्रेष्ठले राजस्व चुहावट नियन्त्रण गर्न गृह मन्त्रालयको संयन्त्रलाई प्रभावकारीरुपमा परिचालन गरिने उल्लेख गर्दै स्वार्थरहित भई आ-आफ्नो जिम्मेवारी बहन गर्न निर्देशन दिए । उनले कर्मचारीहरूलाई कुनै राजनैतिक दबाब र प्रभावमा नपरी ढुक्कसँग उच्च मनोबलका साथ कार्य गर्नुपर्ने बताए ।
अर्थमन्त्री महतले राजस्व सङ्कलनका हिसाबले अत्यन्तै चुनौतीपूर्ण घडीमा रहेको हुँदा सबैले आ-आफ्नो जिम्मेवारी अनुरूपको कार्य इमानदारीपूर्वकता सम्पादन गर्दै राजस्व सङ्कलनमा देखिएको न्यूनतालाई पूर्ति गर्न सबै प्रकारका राजस्व चुहावट नियन्त्रणका लागि समन्वयात्मक रूपमा अधिकतम प्रयास केन्द्रित गर्न निर्देशन दिए ।
उनले यसका लागि राजनैतिक नेतृत्वबाट आवश्यक पर्ने सबै किसिमको सहयोग उपलब्ध हुने प्रतिबद्धता व्यक्त गर्दै राजस्व चुहावट नियन्त्रणसँग सम्बन्धित सबै निकायलाई इमानदारीका साथ आ-आफ्नो क्षमताको उच्चतम प्रयोग गर्नुपर्ने जिकिर गरे ।
बैठकमा राजस्व सङ्कलनमा देखिएको चुनौती, राजस्व चुहावट नियन्त्रणका सम्बन्धमा भएका प्रयासको विषयमा समेत छलफल एवं समीक्षा गरिएको थियो।
FACEBOOK COMMENTS