काठमाडौं । अर्थसचिव तोयम रायाले आगामी आर्थिक वर्षको बजेट बनाउँदा बजेट कार्यान्वयनको पद्धती विकासमा प्राथमिकता दिइने बताएका छन्।
मंगलबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आगामी वर्षको बजेट तर्जुमा विषय छलफलमा बोल्दै सचिव रायाले यस्तो बताएका हुन्।
उनले सरकारले बजेट बनाउँदा प्रमुख प्राथमिकता र लक्ष्य उल्लेख गरे पनि प्राथमिकता र लक्ष्य अनुसार कार्यान्वयन हुन नसकेको बताए।
आगामी आर्थिक वर्षको बजेट बनाउँदा भने मन्त्रालयले बजेट कार्यान्वयनको पद्धती विकासलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्ने उनको भनाइ छ।
संघीयता अनुसार योजना बनाउने र कार्यान्वयन गर्ने विषयमा संघ, प्रदेश र स्थानीय तहको एउटै धारणा बनाउन आवश्यक रहेको उनले बताए।
उनले सरकारको उच्च तहमा बसेर नीति निर्माण गर्ने र योजना बनाउने कर्मचारी तथा सांसदहरुले आफू पदमा हुँदा र नहुँदा पनि सेवा सुविधा पाउनेगरी योजना बनाउन आवश्यक रहेको बताए।
सन् २०२६ सम्म नेपालमा अल्पविकसित मुलुकबाट विकसित मुलुक बन्ने प्रक्रियामा रहेको भन्दै उनले त्यस क्रममा कतिपय विदेशी अनुदानहरु कटौती हुँदै जाने जानकारी गराए।
उनले सन् २०२६ पछि कुनै पनि अनुदानहरु कटौती हुने र अनुदानमा बन्न लागेका आयोजनाहरु समयमा नै सम्पन्न गर्न नसक्दा वैदेशीक सहायता अनुदान फिर्ता भएर नेपाल सरकारको स्रोतबाट खर्च गर्नुपर्ने अवस्था आउने भन्दै त्यसतर्फ सचेत हुन आवश्यक रहेको बताए।
FACEBOOK COMMENTS