काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले हालै भारतको गुजरातमा सम्पन्न जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि रहेको बताएका छन् ।
सम्मेलनमा सहभागी भएर बुधबार स्वदेश फर्किने क्रममा मन्त्री महतले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण र उपलब्धिमूलक रहेको दाबी गरे ।
सम्मेलनमा ३ वटा महत्वपूर्ण विषयमा छलफल भएको उनले बताए । जी–२० सम्मेलनमा सहभागी भएर नेपालले आफ्नो कुरा राख्ने अवसर पाएको, भारत र चिनियाँ अर्थमन्त्रीहरुसँग महत्वपूर्ण भेटघाट र छलफल भएको र भारतीय उद्योगीसँगको छलफललाई उनले मुख्य उपलब्धि मानेका छन् ।
जी–२० बैठकमा विकसित र अल्प विकसित राष्ट्रहरुको समूह हो । नेपाल जी–२० को सदस्य भने होइन । नेपालाई पनि आमन्त्रण गरेको हुनाले कम विकसित देशहरुको समस्या जी–२० को फोरममा राख्ने महत्वपूर्ण अवसर प्राप्त भएको मन्त्री महतले बताए ।
उनका अनुसार कम विकसित मुलुकले भोग्नु परेको समस्या, जलवायु परिवर्तनको समस्या, डिजिटलाइजेसनले निम्त्यिाएको चुनौती देशको सीमाभित्रै सम्हाल्न सक्ने अवस्था कमजोर भइरहेको अवस्था बारे छलफल भएको छ ।
‘डिजिटल ट्रान्जेक्सनमार्फत् जुन आर्थिक गतिविधि हुन्छ, त्यो अरु ठाउँबाट पनि सञ्चालन हुन्छ । त्यो अवस्थामा हामीले कसरी क्षमता वृद्धिका लागि अन्तर्राष्ट्रिय समूहले कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा पनि छलफल भयो,’ उनले भने ।
जलवायु परिवर्तनका कारणबाट नेपाली क्षति व्यहोरिरहेको भन्दै उनले यसमा विकसित देशहरुले कसरी सहयोग गर्नुपर्छ भन्ने विषयमा पनि छलफल भएको बताए । जी–२० का देशहरुमा नै आर्थिक वृद्धिदर कम भइरहेको छ, क्रय शक्तिमा समस्याहरु आएको बताए । यसलाई कसरी विस्तार गर्नेलगायतका विषयमा छलफल भएको मन्त्री डा। महतको भनाइ छ । यस सिलसिलामा विश्व बैंक, एसियाली विकास बैंकलगायत विभिन्न बहुपक्षीय संस्थाहरुको पनि त्यहाँ सहभागिता रहेको र त्यहाँ अनौपचारिक रुपमा नेपालका कुरा राखिएको उनले जानकारी दिए ।
FACEBOOK COMMENTS