काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले हाइड्रोजन बिक्री गरेर देशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने बताएका छन्। सोमबार काठमाडौंमा भएको ग्रिन हाइड्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले जलवायु परिवर्तनका कारण विभिन्न असरहरू पनि देखिन थालेको भन्दै कार्बन उत्सर्जनलाई कम गर्नुपर्ने बताए । उनले पेट्रोलियम पदार्थको खरिदमा नेपालबाट सबैभन्दा बढी डलर बाहिरिरहेको र व्यापार घाटा भइरहेको बताए । मन्त्री शर्माले देशभित्र मात्रै हाइड्रोजनको प्रयोग गर्न सकेमा व्यापार सन्तुलनमा आउन सक्ने बताए ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले हाइड्रोजन ऊर्जाको विकास गर्न सके नेपालले थप ऊर्जा निर्यात गर्न सक्ने बताईन् । मन्त्री भुसालले प्रविधिको विकासँगै आगामी दिनमा जलविद्युत आयोजनाहरुसँगै त्यही पानी प्रयोग गरी हाइड्रोजन उत्पादन गर्ने प्लान्ट स्थापना गर्ने र हाइड्रोजनका रुपमा विद्युतलाई निर्यात गर्ने अवस्था सिर्जना हुने बताएकी हुन् । नेपालका जलस्रोतलाई जलविद्युतमा विकास गरी हाइड्रोजन ऊर्जा, यमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने सरकारको लक्ष्य रहेको उनले बताईन् ।
नेपालले आफूसँग भएको जलस्रोतलाई अधिकतम प्रयोग गर्दै देशको विकास गर्ने, विद्युत र हरित हाइड्रोजनको माध्यमबाट छिमेकी मुलुक साथै विश्वको नवीकरणीय ऊर्जाको मागलाई केही हदसम्म योगदान दिन सक्ने अवसरलाई सदुपयोग गर्नुपर्ने उनको भनाइ छ । किफायति, विश्वसनीय, भरपर्दो र हरित ऊर्जामा सबै जनताको पहुँच सुनिश्चित गर्ने राष्ट्रिय लक्ष्य प्राप्त गर्न जलविद्युत आयोजनाहरुको दिगो रुपमा विकास गरिनुपर्ने आवश्यकता रहेको भन्दै मन्त्री भुसालले नेपालमा उपलब्ध प्रचुर जलस्रोतको विकासबाट देशभित्रको नवीकरणीय ऊर्जाको बढ्दो माग पूरा गर्दै बढी भएको स्वच्छ ऊर्जा छिमेकी मुलुकसम्म पु¥याइ विदेशी मुद्रा आर्जन गर्न सकिने बताईन्। सन् २०३० भित्रै दिगो विकास र सन् २०२६ मा मध्यम आय भएको मुलुकको लक्ष्य प्राप्त गर्न सबल अर्थतन्त्रको विकास हुन आवश्यक रहेको उनको धारणा छ ।
त्यस्तै कार्यक्रममा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष शेष घलेले सरकारले ग्रीन हाइड्रोजन सम्बन्धी नीति बनाउनुपर्ने बताए । उनले जलविद्युतको प्रयोग गरेर उत्पादन हुने ग्रीन हाइड्रोजनको उत्पादनमा सरकारले जोड दिनुपर्ने धारणा राखे।
FACEBOOK COMMENTS