केही दिनअघि साँझपख सहकर्मी भोजराज भण्डारी र म काठमाडौंको चाबहिलबाट दुई फरक गन्तव्यका लागि कलंकीतर्फ गइरहेको महानगर यातायातको बस चढ्यौं । बसभित्र एक अधबैंसे महिला यात्रुहरूसँग सहयोग रकम संकलनका लागि चढेकी रहिछन् । आफ्ना भाइको मिर्गौला फेल भएको र उपचारमा आर्थिक अभाव भएको भनेर बसमा सवार यात्रुलाई पालैपालो एक कागजात थमाउँदै सहयोग रकम माग्दै गर्दा बसमा सवार आफूलाई सरकारी कर्मचारी बताउने एक पुरूषले चन्दा संकलनका लागि ती महिलाले प्रयोग गरेको कागजात नक्कली भन्दै जफत गरेका रहेछन् । फर्जी कागजात बनाएर ठगेको भन्दै ती पुरूषले उक्त कागजात फिर्ता दिएनन् ।
ती पुरूषले साेधपुछ गर्दा महिला आफूलाई काठमाडौंको कुनै एक क्षेत्रको बासिन्दा बताउँदै थिइन् । अनि ती पुरूषले आफू पनि सोही क्षेत्रको बासिन्दा रहेको बताउँदै ती महिलाले देखाएको कागजातमा सम्बन्धित वडाका वडाध्यक्षको नाम र हस्ताक्षर नै फरक रहेको भन्दै थिए । उनका अनुसार सो कागजातमा उल्लेखित नामका व्यक्ति सम्बन्धित वडाका वडाध्यक्ष नै छैनन् । ती पुरूषले रकम संकलनकर्ता महिलाले देखाएको कागजातले सम्बन्धित वडाबाट उनी वास्तविक पीडामा परेको प्रमाणित भए उनलाई आफू एक्लै दस हजार रूपैयाँ सहयोग गर्न तयार रहेको भन्दै महिलालाई आफूसँगै हिँड्न चुनौती दिए । महिला ती पुरूषकै सामुन्ने आफ्ना बिरामी भाइ खडा गरिदिन्छु भन्दै थिइन् ।
यो घटनालाई बसका प्रायः सबैजसो यात्रुले हेरिरहेका/सुनिरहेका थिए । त्यसबीच केही यात्रु एकआपसमा काठमाडौंका सार्वजनिक यातायातमा यसरी चन्दा संकलनका नाममा फर्जी कागजात देखाएर यात्रु ठग्ने प्रवृत्ति मौलाइरहेको भन्दै कुराकानी पनि गर्दै थिए । त्यसैबीच एक गाइने बसभित्र प्रवेश गरेर सारंगी बजाउँदै गीत गाउन थाले । उनले केही सहयोग पाए पनि । बस बसुन्धारा पुगेपछि ती महिला र गाइने दुवै ओर्लिए । ती पुरूषले वास्तविक पीडित हो भन्ने प्रमाणित गर्न सके एक्लै दस हजार रूपैयाँ दिन्छु भन्दा पनि महिलाले अन्य बहाना बनाउनुले उनले यात्रुलाई ठगेकै हो भन्ने स्पष्ट हुन्छ । यदि वास्तविक पीडित हो भने उनले सो कागजात लिन अनेक हारगुहार गर्ने थिइन्, उनको मुहारमा तनावको अवस्था देखिने थियो । तर, त्यति हुँदा पनि उनी स्वाभाविक देखिएकी थिइन् । अर्कातिर बसबाट ओर्लेपछि केही पर ती महिला, गाइने र अरू केहीसहित भेला भएर आपसमा गानगुन गरिरहेको दृश्य पनि देखियो । यसले ठगीको आशंकालाई थप बल पुर्यायो । काठमाडौंमा यस्ता ठगहरू संगठित रूपमै मिलेका कुरा बसमा सवार यात्रुहरूले गरे ।
यो घटनाको करिब दुई सातापछि तिनै महिला मंगलबार (१० मंसिर) साँझ उसैगरी देखा परिन् । अधिकांश सधैं एकै गन्तव्यका यात्रु भएर हुनुपर्छ, उनले सहयोग रकम संकलनका नाममा ठगी गरिरहेको भन्ने लागेर हुन सक्छ, कसैले पनि उनलाई सहयोग गरेनन् र केही बेरमै उनी बसबाट ओर्लिइन् ।
यो एक प्रतिनिधि घटना मात्र हो । काठमाडौंका सार्वजनिक यातायातमा विभिन्न बहानामा चन्दा संकलनका नाममा ठगी मौलाइरहेको सत्य हो । यस्तो ठगी धेरैजसो आफ्ना परिवारका सदस्य गम्भीर बिरामी रहेको र उपचारमा आर्थिक अभाव भएको बहाना गरेर हुने गर्छ । खासगरी परिवारका कुनै सदस्यको मिर्गौला फेल भएको, मस्तिष्कसम्बन्धी गम्भीर रोग लागेको, भवितव्यपीडितलगायत बहानामा यस्तो ठगी हुने गरेको छ ।
नेपालीहरू स्वभावैले भावुक हुन्छन् । अरूको दुःख देख्न सक्दैनन्, आफ्नै गाँस काटेर पनि पीडितहरूलाई सहयोग गर्न तयार हुन्छन् । काठमाडौंका सार्वजनिक यातायातमा यस्ता सयौं ठगहरूले यात्रुलाई भावनात्मक बनाएर चन्दास्वरूप भन्दै दैनिक ठूलो रकम उठाइरहेका छन् । अन्य काम गर्दा बढी दुःख हुने, तत्काल पैसा हातमा नपर्ने तर यसरी ठगी गर्दा सहजै र तत्काल पैसा पनि हात लागिहाल्ने र काम गरेर भन्दा कैयौं गुणा बढी कमाइ हुने भएपछि ठगहरूको संख्या बढ्दो छ । यस्ता ठगहरू बिहानदेखि साँझसम्म सक्रिय हुन्छन् र बिसौनीपिच्छे सार्वजनिक यातायात चढेर यात्रुलाई ठग्नेसँगै हैरानी दिइरहेका छन् । काठमाडौंमा दैनिक सार्वजनिक यातायातमा यात्रा गर्नुपर्नेहरूले यस्ता ठगहरूका कारण हैरानी पाइरहेका छन् । अर्कातिर यिनै ठगहरूले गर्दा वास्तविक पीडित मर्कामा परिरहेका छन् । यिनीहरूका कारण स्वभावैले दुःख पाएकालाई सहयोग गर्न इच्छुक नेपालीहरू सहयोग माग्न आउने सबै ठग हुन् भन्ने सोच्न विवश भइरहेका छन्, जसले गर्दा वास्तविक पीडितलाई सहयोग पाउन समस्या भइरहेको छ ।
यस्ता ठगहरूलाई कारबाही गर्न सकिने स्पष्ट कानुनी व्यवस्था छ । संशोधित चन्दा ऐन, २०३० को दफा ३ ले नेपाल सरकारको पूर्वस्वीकृति लिई धार्मिक, परोपकारी वा अन्य सार्वजनिक कार्यका लागि कसैले स्वेच्छाले दर नतोकी चन्दा लिनदिनबाहेक कुनै व्यक्ति वा सरकारी वा गैरसरकारी कार्यालय वा संस्थाले उठाउन वा लिन नहुने व्यवस्था गरेको छ । ऐनको दफा १३ अनुसार ऐन वा ऐनअन्तर्गत बनेका नियमहरूको बर्खिलाप हुने गरी वा करकाप गरी चन्दा उठाउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा दुई हजार रूपैयाँ जरिवाना वा दुवै सजाय हुने र त्यसरी उठाइएको चन्दाको रकमसमेत निजबाट असुलउपर हुने व्यवस्था छ ।
तर, यस ठगीधन्दाका विरूद्ध कसैले पनि नियामक निकायसम्म उजुरी नगरेर हो वा जानाजान नियामक निकायको ध्यान यसतर्फ नगएको हो, यो खुलेआम चलिरहेको छ ।
FACEBOOK COMMENTS