जङ्गबहादुरको बेलायत यात्रा वृत्तान्तमा उमेरदार युरोपेली नारीहरूको सौन्दर्यको थोरै बयान गरिएको पढ्न पाइन्छ । त्यस यात्रा वृत्तान्तमा युरोपेली युवतीहरूको नाकको अलिकति चर्चा गरिएको छ । उनीहरूको नाकलाई ‘तेलको धारा’जस्ता भनिएको छ । व्यक्तिले व्यक्तिमाथि दृष्टि दिँदा उसका आँखाहरूको मूल आकर्षणको केन्द्र अनुहार नै हुन्छ ।
समकालीन दुनियाँमा मानिसको आँखा, नाक वा शारीरिक बनोट हेरेर सौन्दर्यको चर्चा गर्ने वा औसत धारणा बनाउने प्रवृत्ति उत्पात मौलाएको छ । त्यसैले अधिकतम व्यक्तिहरूले सकेसम्म आफ्नो आवरणलाई सुन्दर बनाउन चाहन्छन्, जसका कारण आफ्नो अनुहार हेरेर अरूले आफूमाथि राम्रो धारणा बनाऊन् । तर व्यक्तिको सौन्दर्यलाई केवल अनुहारको रूपरङमा मात्र सीमित गरिए त्यो ठूलो भ्रम हुनेछ । अनुहारबाट मात्रै मानिसको वास्तविक पहिचान भेट्न सकिन्न । मानिसको वास्तविक सुन्दरता त उसले बोकेको विचारमा मात्र पाइन्छ । महान विद्वान् अष्टबक्राले भनेकै छन्, ‘आत्मदृष्टिले हेरियो भने असुन्दर भन्ने केही पनि पाइन्न । तर चर्मदृष्टिले हेर्न थालियो भने असल भन्ने देख्न मुस्किल पर्नेछ । चर्मदृष्टिले त अज्ञानीले मात्रै हेर्छ ।’
अष्टबक्राको यो भनाइलाई हामीले गहिराइमा पुगेर ध्यानदृष्टि दियौँ भने मनन् गर्नपर्ने उच्च तहको दर्शन पाउन सक्छौँ । तर अहिलेको यो अस्वस्थ होडबाजीको युगमा यस्तो दर्शन र ज्ञान सम्झाउने र सम्झनेहरूको खडेरी पर्न थालेको छ । यो सभ्य समाजको सूचक होइन ।
मानिसको अनुहार मात्रै हेरेर दृष्टिकोण बनाउनु पनि चर्मदृष्टिको उपज हो । हामी भन्न सक्छौँ, मानिसको बाहिरी रूपरङ वा आवरण हेरेर मात्रै निर्णयमा पुग्न थालियो भने त्यो हतारो हुनेछ । हामीले मानिसको विचारबाट मात्रै उसको सौन्दर्यको सही मूल्याङ्कन गर्न सक्छौँ ।
सुकरातको अनुहार अवलोकन
असल विचार र दर्शनको प्रवाह गर्दा समाज भाँडेको आरोप लागेको थियो महान् दार्शनिक सुकरातलाई । त्यही आरोपमा त्यसबेलाको आडम्बरी शासकले उनलाई मृत्युदण्ड दिएको थियो । शारीरिक दृष्टिले सुकरातमा आकर्षक व्यक्तित्व थिएन । उनी होचो कदका थिए र हिँड्दा पनि बाङ्गो पाराले हिँड्थे । उनको अनुहार कुरूप थियो । तर पनि उनको पछाडि लाग्ने शिष्यहरूको लर्को सानो थिएन । यसको कारण थियो, उनीबाट प्रवाहित हुने सुन्दर विचारहरूको प्रवाह ।
एकदिन उनी आफ्ना शिष्यहरूलाई प्रवचन दिइरहेको बेला एक ज्योतिष उनीसम्मुख उपस्थित भए । ती ज्योतिष कसैको अनुहार हेरेकै भरमा मानिसको भविष्यवाणी गरिदिने घमण्ड गर्थे । ती ज्योतिषले सुकरातको अनुहार हेर्दै भने, ‘यो मानिसमा क्रोध नै क्रोध छ । नाक हेर्दा यस्तै लाग्छ । निधार र टाउकोको बनोट हेर्दा यो मानिस लोभी हुनुपर्छ । चिउँडो हेर्दा अत्यन्तै सनकी छ । ओठ र दाँतको आकारले भन्छ, यो मानिस देशद्रोहका लागि लालायित छ ।’
यो सुनेर ती ज्योतिषलाई सुकरातले राम्रो पुरस्कार दिएर पठाउँदा उनका शिष्यहरू ठूलो आश्चार्यमा परे । आफ्ना शिष्यहरूको आश्चार्य बुझेर सुकरातले उनीहरूलाई भने, ‘ज्योतिषले भनेको सबै दुर्गुण मसँग छ । यो म स्वीकार गर्छु । तर ज्योतिषले मेरो विवेकलाई ध्यान दिएनन् । म आफ्नो विवेक शक्तिले सबै दुर्गुणमा अङ्कुश लगाउन सक्छु ।’
मानिसले अनुहार हेरेर सबै कुरा थाहा पाउन सक्ने भए ती ज्योतिषले भनेजस्तै सुकरात पनि अत्यन्तै खराब हुनुपर्ने हो । तर उनी त संसारको महान दार्शनिक भएर अमर बने । उनैले जन्माएका शिष्य प्लेटो अर्का महान विचारक भए भने प्लेटोका शिष्य एरिस्टोटलका विषयमा जति चर्चा गरे पनि कम हुन्छ । सुकरातको जन्म एक व्यक्तिमा मात्रै सीमित भएन, उनी त समाजको मार्गदर्शक बने ।
सुकरातको समयमा उनको ईर्ष्या गर्ने र आफूलाई विद्वान् स्वघोषणा गर्नेहरू प्रशस्तै थिए । उनीहरू आफूलाई ‘सोफिस्ट’ भन्थे । तर सुकरात चाहिँ आफूलाई फिलोसोफर भन्थे । ल्याटिन भाषामा ‘फिलो’ भनेको ज्ञान र ‘सोफर’ भनेको प्रेमी हो । विनयशील सुकरातले आफूलाई विद्वान् नभनी ज्ञानको प्रेमी भन्ने गर्थे । यसबाट पनि असल चिन्तकहरूमा विनयशीलताजस्तो महानता कतिसम्म हुँदो रहेछ भन्ने थाहा पाउन सकिन्छ । हाम्रा कवि शिरोमणि लेखनाथ पौड्यालले भनेजस्तै फलेको वृक्षको हाँगो ननुहेको कहाँ छ र ?
रूप र चिन्तनको संयोजन
मिलेको अनुहार, चम्किला आँखा, आवश्यकताअनुसारको उचाइ र तन्दुरूस्त शरीरको चाहना सबैलाई हुन्छ । तर सबैले त्यो अवसर पाउन सक्दैनन् । प्रचलित सौन्दर्य दृष्टिमा अनाकर्षक शारीरिक बनोट लिएर जन्मने मानिसलाई त्यो मानिसले अपहेलना गर्छ, जोसँग अष्टबक्राले भनेजस्तै आत्मदृष्टि होइन, चर्मदृष्टि मात्र हुन्छ ।
हामी रूप र चिन्तनको उदाहरण दिँदा सिद्धार्थ गौतमको उदाहरण दिन सक्छौँ । उनले ज्ञान प्राप्तिको खातिर दरबारिया भौतिक सुख परित्याग गरे । त्यसबेला पुरूषहरूले पनि केश विन्यासलाई ठूलो महत्त्व दिन्थे । उनले दरबार छाडेपछि आफूले बोकेको छुरीले आफ्नो कपाल आफैँ काटे । उनी कतिसम्म सुन्दर थिए भने उनलाई बत्तीस लक्षणले युक्त पुरूष मानिन्थ्यो । उनले भौतिक सुखसयल र आफ्नो सुन्दर अनुहारप्रति कुनै मोह राखेनन् । धैर्यतापूर्वक गरिएको ध्यान साधनाबाट उनले बुद्धत्व प्राप्त गरे । अनि उनी गौतम बुद्धको रूपमा प्रसिद्ध बने ।
बुद्धत्व प्राप्त गरिसकेपछि उनले आफ्ना शिष्यहरूलाई भौतिक सुख र सौन्दर्यतिर रत्तिभर ध्यान नदिई साधनामा लाग्न प्रेरित गरिरहे । दाह्री, जुँगा र कपाल खौरन र वस्त्रका रूपमा चिवर धारण गर्न शिष्यहरूलाई प्रेरित गरे । चिवर भनेको मसानघाटहरूमा फ्याँकिएका मृतकका वस्त्रहरू हुन् । तिनीहरूलाई धोई/सफा गरी, सिलाई धारण गर्न उनले शिष्यहरूलाई प्रेरित गरिरहे । उनका शिष्यहरूले त्यसलाई अनुसरण गरे ।
गौतम बुद्धकी एक दिदी (सानी आमा प्रजापति गौतमीतिरकी छोरी) थिइन्, नन्दा । उनी अत्यन्तै सुन्दरी थिइन् । उनमा आफ्नो सुन्दरताको ठूलो घमण्ड थियो । बुद्ध उनलाई शारीरिक सौन्दर्यको घमण्डबाट मुक्त गराएर भिक्षुणी बनाउन चाहन्थे । निक्कै लामो प्रयासपछि बुद्धले सौन्दर्यको घमण्डबाट मुक्त गराएर नन्दालाई भिक्षुणी बनाउन सफलता प्राप्त गरेका थिए ।
गौतम बुद्धको विचारमा शारीरिक सौन्दर्य गौण हो, त्योभन्दा उत्तम त सुन्दर विचार हो । सुन्दर विचारले सुन्दर समाज निर्माण गर्छ । सुन्दर समाजका लागि उपकारी मनहरूको जमघट आवश्यक हुन्छ । उपकारी मनका लागि सुन्दर विचार चाहिन्छ । गौतम बुद्ध भन्थे, ‘तिमीले प्रत्येकपल्ट सास फेर्दा तिम्रो आयु घटिरहेको हुनेछ । त्यसैले आफ्नो प्रत्येक क्षण तिमी प्राणी जगतको उपकारमा लगाऊ ।’
नश्वर शरीर अमर विचार
संसार अनित्य छ, कुनै भौतिक वस्तु स्थायी छैन । नश्वर शरीर त एकदिन बिलाएर जान्छ । जतिसुकै सुन्दर भए पनि समयक्रमसँगै अनुहार खुम्चँदै चाउरी पर्दैै जान्छ । सिधा र आकर्षक शरीर पनि कुप्रिँदै जान्छ । हट्टाकट्टा शरीर समय पुगेपछि कमजोर हुँदै जान्छ । रौँहरू झर्न थाल्छन् । अन्ततः हाम्रो भौतिक देह एकदिन माटोमा मिल्न पुग्छ । तर हामीले सुन्दर विचार राख्यौँ भने त्यो एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जान्छ । सुन्दर विचारले सुन्दर समाज निर्माणका लागि मार्गदर्शन गर्छ । त्यसैले सुन्दर समाज निर्माणमा जुट्न सुन्दर विचार बोक्न जरूरी छ ।
अनुहारको सौन्दर्य र विचारको उत्कृष्टताको प्रसङ्ग कोट्याउँदा महान् नाटककार तथा मानवतावादी व्यक्तित्व जर्ज बर्नाड शको धारणालाई पनि उदाहरणको रूपमा लिन सकिन्छ । उनको प्रतिभाबाट प्रभावित नहुने कोही थिएनन् । यस्तै प्रभावमा पर्ने हलिउडकी एक जना सुन्दरीले उनलाई विवाहको प्रस्ताव राख्दै भनिछन्, ‘तिमी र म विवाह गरौँ र हामी यस्तो सन्तानलाई जन्म दिऔँ कि रूप मेरोजस्तो होस् अनि बुद्धि तिम्रोजस्तो ।’
यो सुनेर जर्ज बर्नाड शले ती सुन्दरीलाई उल्टै प्रश्न गरेछन्, ‘हे सुन्दरी ! तिम्रो कुरा त ठीकै हो तर हामीबाट जन्मिने सन्तानमा रूप मेरोजस्तो र बुद्धि चाहिँ तिम्रोजस्तो भयो भने के गर्ने नि ?’ त्यसैले हामी पनि अनुहारमा होइन, विचारमा सुन्दरताको खोजी गरौँ ।
FACEBOOK COMMENTS