बिराटनगर । नेपाल कमर्सियल आर्टिस्ट संघले कोशी प्रदेशस्तरीय भेला र मोरङ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न गरेको छ ।
मोरङको बिराटनगरमा भएको कोशी प्रदेशस्तरीय भेलाले कमलेश लिम्बु (डीएगो)को संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरिएको संघका केन्द्रीय सचिव सन्तोष बीसीले जानकारी दिएका छन् । उनका अनुसार तदर्थ कमिटीको सह–संयोजकमा ओम प्रकाश बिक, सचिव बिनोद चौधरी, सह–सचिव कुमार तामाङ चयन भएका छन् ।
यसैबीच नेपाल कमर्सियल आर्टिस्ट संघ, मोरङ जिल्ला कमिटीको पहिलो अधिवेशन पनि सम्पन्न भएको छ । संघका केन्द्रीय अध्यक्ष राम प्रसाल लिम्बु (यम)को प्रमुख आतिथ्यता र जिल्ला अध्यक्ष स्वयम्बर राजवंशीको अध्यक्षतामा शनिबार अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनले प्रयाग चौधरीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कमिटी निर्वाचित गरेको छ । जिल्ला कमिटीको उपाध्यक्षमा नरसिंह धिमाल, सचिवमा सुमन कट्टेल, सह–सचिवमा केडी देवान र कोषाध्यक्षमा राजन न्यौपाने निर्वाचित भएका छन् ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा विक्रमश्री र विशेष अतिथिमा केन्द्रीय उपाध्यक्ष कमल राज श्रेष्ठ, महासचिव सुबास केसी, सचिव सन्तोष बीसी, सचिव केशव लामा, कोषाध्यक्ष नवीन कार्की सहभागी थिए । अधिवेशनका क्रममा अग्रज कलाकारहरू राम अवतार दास, सरद प्रधानाङ्ग, आरके कर्ण र वरिष्ठ कलाकार बिक्रम श्रीलाई सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका संघीय अध्यक्ष राम प्रसाद लिम्बु (यम) ले राज्यले कलाकार हरूको सम्मान र पहिचान गर्न नसकेको र कलाकरको हकहितको सुरक्षा नभएको बताउँदै अब यसका लागि नेपाल कमर्सियल आर्टिष्ट संघले आवाज उठाउने विश्वास व्यक्त गरे । संघले अब कलाकारहरूलाई राज्यबाट हुने अवहेलना, पक्षपातपूर्ण व्यवहार र पेसासँग सम्बन्धित कानुन र नियम बनाउँदा प्रत्यक्ष सरोकार राख्ने सरोकारवाला पक्षका रूपमा नेपाल कमर्सियल आर्टिस्ट संघलाई पनि समावेश गरिनुपर्ने धारणा उनको थियो ।
यस्तै, उपाध्यक्ष कमल राज श्रेष्ठले कलाकारहरूको जीवन सुरक्षित गर्न संघ आफैंले न्यूनतम रकममा जीवन बीमा समेत सञ्चालन गर्ने योजना रहेको कुरा बताए भने महासचिव सुवास केसीले देशभरि छरिएर रहेका कमर्सियल आर्टिस्टहरूका समस्याको पहिचान गरी जिल्ला–जिल्लामा पुग्ने बताए ।
यसैगरी, संघीय सचिव सन्तोश बीसीले चाँडै देशभरका कलाकारहरूको तथ्याङ्क सङ्कलन गर्ने कामको सुरूवात गर्न लागिएको भन्दै कलाकारहरूलाई समस्या पर्दा तत्काल राहत दिन सक्नेगरी राहतकोषको समेत स्थापना गरिसकेको जानकारी दिए ।
कार्यक्रममा विशिष्ट अतिथि विक्रम शाहीले कलाकारहरूले अब एक भएर राज्यसँग आफ्नो हकहितका लागि लड्नुपर्ने र राज्यले कलाकारका लागि स्थापना गरेको नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानको केन्द्रदेखि प्रदेशसम्मको गठन प्रक्रियामा समेत नेपाल कमर्सियल आर्टिस्ट संघको प्रतिनिधित्व अनिवार्य हुनेपर्नेमा जोड दिए । त्यस्तै, कार्यक्रमका अध्यक्ष प्रयाग चौधरीले मोरङ जिल्लाका आर्टिस्टहरूमा संघप्रति हिजो भन्दा आज विश्वास बढ्दै गएको तथा आशा, उत्साह र भरोसा बढेको बताए ।
FACEBOOK COMMENTS