काठमाडौं । अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल (बले)लाई जबरजस्ती करणीको आरोप लगाएपछि चलचित्र ‘पाँच पाण्डव’बाट उनी निकालिएका छन् ।
झापामा छायांकन भइरहेको चलचित्र ‘पाँच पाण्डव’को मुख्य कलाकारमध्ये सागर पनि एक थिए । “यस्तो समाचार आएपछि हामीले पनि उहाँको बारेमा सोच्नु पर्नेभयो । उहाँ त्यस्तो मान्छे हो जस्तो त लाग्दैन,” चलचित्र पाँच पाण्डव’का प्रस्तुतकर्ता समेत रहेका निर्माता नवीन श्रेष्ठ भन्छन्, “यस्तो समाचार आएपछि हामीले उहाँको ठाउँमा अर्को कलाकाकार लगबग भित्र्याइसक्यौँ ।”
अब चलचित्र ‘रि–सुट’ गरिने उनको भनाइ छ । “उहाँकै चाहिँ अधिकांश पार्ट छायांकन भइसकेको थियो । अब जति खर्च थपिए पनि हामी खर्च गर्न तयार छौँ, पूरै रि–सुट गर्नेछौँ,” श्रेष्ठ भन्छन्, “पाँच पाण्डवको जुन इतिहास र मर्यादा छ, त्यसमा दाग लगाउने अधिकार मलाई छैन ।”
यो चलचित्र चैत २ गतेबाट छायांकन सुरु भएको थियो । चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, दीपाश्री निरौला, जनी गुरुङ, प्रशान्त ताम्राकार, इभा गुरङलगायत कलाकार मुख्य भूमिकामा छन् ।
वसन्त निरौलाले निर्देशन गरिरहेको चलचित्रको कथा सुशील पौडेलले लेखेका छन् ।चलचित्रको निर्माण काली रानी श्रेष्ठले गरिरहेकी छिन् । चलचित्रलाई श्याम तामाङले खिचिरहेका छन् ।

