काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले प्रतिष्ठित उद्यमी अरुण चौधरीलाई सरकारले नियतवश पक्राउ गरेको बताएको छ ।
आज शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले सीजी होल्डिङ्सका अध्यक्ष एवम् प्रबन्ध निर्देशक समेत रहेका चौधरीलाई अनुसन्धानको वहानामा पक्राउ गरी कब्जामा लिएको बताएको हो ।
‘देशको प्रतिष्ठित उद्यमी व्यवसायी एवम् सीजी होल्डिङ्गसका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण कुमार चौधरीलाइ सरकारी जग्गा हडपेकोे बारे अनुसन्धानका क्रममा बुझ्ने बाहाना गरी पक्री कब्जामा राख्ने कदम सम्पूर्ण निजी क्षेत्रप्रतिको मानमर्दन गर्न नियतवश चालिएको कदमको रुपमा महसुश भएको छ । यस घटनाको संघ आपत्ति र विरोध गर्दछ,’ अध्यक्ष दिनेश श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
कुनै पनि विषयमा सुक्ष्म अनुसन्धानकै क्रममा सप्रमाण दोषी ठहर नहुँदै थुन्ने अनि मात्र सुन्ने प्रक्रियाप्रति पनि संघले कडा आपत्ति प्रकट गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘विगतमा पनि जग्गाकै नाममा उद्यमी व्यवसायीहरुलाई महिनौँ थुन्ने काम भएको थियो । जग्गाको विषयमा अनुसन्धानबाट गलत र दोषी देखिए विवादित जग्गा कहीँ नजाने र सो हकवालाले कब्जा गरी लिन–दिन सकिने विषय हो । यसलाई निहुँ बनाएर व्यक्तिलाई हिरासतमा राख्नु सही कदम हुन सक्दैन ।’
लगानी गरी, रोजगारी दिई, राजस्व बुझाई सम्पूर्ण सम्पत्ति देशमै राखी बस्ने र गरिखाने वर्गमाथि एउटा प्रजातान्त्रिक जनसरकारको शासनकालमा यस्तो निर्दयी प्रहार हुन्छ भने साधारण जनतामाथिको व्यवहार कस्तोसम्म होला भन्दै संघले चिन्ता समेत प्रकट गरेको छ । ‘यस्तो कदम आगामी दिनमा नहोस् भन्दै हिरासतबाट शीघ्र रिहाइको माग गर्दछौँ,’ संघले विज्ञप्तिमार्फत भनेको छ ।
यो पनि पढ्नुहोस्–
उद्योगी व्यवसायीको साझा प्रश्न- घरमा रडाको मच्चाएर लगानी सम्मेलन सफल हुन्छ ?
FACEBOOK COMMENTS