सङ्खुवासभा । जलस्रोत तथा ऊर्जामन्त्री पम्फा भुसालले अरुण तेस्रोको कामबाट सरकार सन्तुष्ट रहेको बताइन् । अरुण तेस्रो जलविद्युत् परियोजनाको अनुगमन गर्न बुधबार हेलिकप्टरबाट यहाँ आएका मन्त्री भुसालले अनुगमनपश्चात् यस्तो बताएकी हुन् । मन्त्री भुसालले अरुण तेस्रो आयोजनाको बाँध निर्माण क्षेत्र र त्यस क्षेत्रको सुरुङको अनुगमन गरिन् ।
मन्त्री भुसालको टोलीलाई विद्युत् विकास कम्पनी सतलज जलविद्युत् निगमका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले हालसम्मको प्रगतिबारे जानकारी गराए । धिमानले कोरोना महामारीमा पनि कामको गति नघटेको जानकारी दिए । उनले विकट क्षेत्र, सडकको असुविधा भए पनि हालसम्म ४० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको जानकारी गराए ।
धिमानले आयोजनाबारे विवरण पेस गरेपछि मन्त्री भुसालले अरुण तेस्रोको कामबाट आफूहरू सन्तुष्ट रहेको प्रतिक्रिया दिइन् । तोकिएको समयभित्र काम सम्पन्न गर्न सरकारको तर्फबाट सहयोग गर्नेसमेत मन्त्री भुसालले बताइन् ।
कुल उत्पादन क्षमता नौ सय मेगावाट क्षमताको अरुण तेस्रो आयोजना सन् २०२२ मा सम्पन्न हुने आयोजना विकास सम्झौता (पीडीए)मा उल्लेख गरिएको छ । एक खर्ब ४४ अर्ब रुपियाँ लागत अनुमान गरिएको यस परियोजनाबाट नेपाललाई २१ दशमलव ९ प्रतिशत विद्युत् निःशुल्क प्राप्त हुनेछ भने विभिन्न शीर्षकमा ३ खर्ब ४८ रुपियाँ आर्थिक लाभ नेपालले लिने आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS