काठमाडौं । अभिनेत्री अरुणिमा लम्सालले दोस्रो विवाह गरेको वर्षदिन नबित्दै वैवाहिक सम्बन्ध टुटाउने भएकी छन् । गायिका एलिना चौहानले विवाह गरेको नौ महिनामै पति विष्णु सापकोटासँग सम्बन्धविच्छेद गरेको घटना सेलाउन नपाउँदै अर्की नेपाली कलाकारको वैवाहिक सम्बन्ध टुट्ने सङ्घारमा पुगेको हो ।
अमेरिकामा बस्दै आएकी अरुणिमाले केही दिनअघि नेपाल आएर पति युवराज श्रेष्ठमाथि डिभोर्सको मुद्दा दर्ता गराएकी हुन् । आफू अभिनीत फिल्म ‘घर : बट इन अमेरिका’ को प्रमोशनका लागि भनेर आएकै बेला उनले अदालतमा डिभोर्सको मुद्दा हालेकी हुन् ।
अमेरिकी नागरिक भइसकेकी हुनाले अरुणिमाले वारेसमार्फत मुद्दा दायर गरेकी हुन् । उनले सम्बन्धविच्छेदमा पुग्नुपर्ने कारणको दोष पति युवराजलाई दिएकी छन् । विवाहअघि उनका विषयमा सबै राम्रो तर विवाहपछि सबै नराम्रो सुनिएकाले झुट बोल्ने मान्छेसँग सम्बन्ध कायम राख्न आवश्यक नलागेपछि आफू यो निर्णयमा पुगेको उनको भनाइ छ ।
गत भदौमा छुट्टी मनाउन नेपाल आएका बेला अरुणिमाले छोटो चिनजानपछि युवराजसँग विवाह गरेकी थिइन् । उनको यो दोस्रो विवाह हो । यसअघि उनको अमित अर्यालसँग पहिलो विवाह भएको थियो । उनीहरूबाट एक छोरी छिन् ।
FACEBOOK COMMENTS