काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन् ।
आज काठमाडौँ र मकवानपुरको विभिन्न मतदान केन्द्रको स्थलगत निरीक्षण तथा अनुगमनको क्रममा गृहमन्त्री अर्यालले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सबै पक्षको सहयोग रहने विश्वास व्यक्त गर्नुका साथै निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सफल बनाउन आम नागरिकको सक्रियता जरुरी रहेको उल्लेख गरे ।
सरकारको प्रवक्तासमेत रहेका गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमा चलाइने गलत, मिथ्या र दुष्प्रचारका सूचना तथा खबरबाट सचेत भएर आ–आफ्नो निर्वाचन क्षेत्रको तयारीमा जुट्न सम्बन्धित सबै पक्षमा अनुरोध गरे ।
मन्त्री अर्यालसहितको टोलीले दक्षिणकाली नगरपालिका–९ फर्पिङस्थित सेतीदेवी माविको मतदान केन्द्रको स्थलगत निरीक्षण गरे । साथै, गृहमन्त्री अर्यालले कीर्तिपुरस्थित सशस्त्र प्रहरीबल नेपाल दङ्गा नियन्त्रण रेजिमेन्ट गणको अनुगमन र निर्देशनसहित जिल्लाको समग्र सुरक्षा व्यवस्थापनको जानकारी लिए ।
यस्तै, गृहमन्त्री अर्यालले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१८ को मतदान केन्द्रको अनुगनम गरे । त्यस क्रममा मकवानपुर जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीसहित गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीसहितको उपस्थितिमा अनुगमन तथा निर्वाचन सुरक्षासम्बन्धी विषयमा छलफल भएको थियो ।

त्यसैगरी मन्त्री अर्यालसहितको टोलीले इन्द्रसरोवर नगरपालिकाको चौकी निरीक्षण गरी जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिएको थियो । काठमाडौँ र मकवानपुर जिल्लाका जिल्ला सुरक्षा प्रमुखसहितको संयुक्त टोलीले स्थलगत अनुगमन तथा निरीक्षण गरे ।

दुबै जिल्लाका सीमा आसपासका क्षेत्रको सुरक्षा, मतदान केन्द्रलगायत सुरक्षाकर्मीको परिचालन गरिरहेको ब्रिफिङ लिनुका साथै सुरक्षा व्यवस्थापन र परिचालनसम्बन्धी आवश्यक निर्देशन दिए ।

FACEBOOK COMMENTS