जिम्बावेको टाकासिंगा क्रिकेट क्लबमा नेदरल्यान्ड्सले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपालले पहिलो विकेट गुमाएको छ।
ओपनिङ ब्याट्सम्यान आसिफ शेख शून्यमा भान वीकको बलमा बोल्ड भएका छन्। त्यतिबेला नेपालले २.२ ओभरमा ७ रन जोडेको स्थिति थियो।
अहिले कुशल भुर्तेलसँगै भीम सार्की ब्याटिङ गरिरहेका छन्।
समूह चरणको सुरूवाती तीन खेलमध्ये दुई खेलमा हार ब्यहोरेको नेपालका लागि आजको खेल निर्णायक रहने छ। सुपर सिक्स सम्भावना जिवित राख्न नेपाल आज जित्नैपर्ने दबाबमा छ।
समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा आयोजक जिम्बावेसँग ८ विकेटको हार बेहोरेको थियो। दोस्रो खेलमा नेपालले अमेरिकामाथि ६ विकेटको जित निकाल्दै महत्वपूर्ण दुई अंक जोड्यो। यहि जितका कारण नेपालको सुपर-सिक्स सम्भावना कामयै बनेको थियो।

तेस्रो खेलमा दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग निडर प्रदर्शन गरेको नेपाल १०१ रनले पराजित भयो।

समूहमा वेस्ट इन्डिज र जिम्बावे लगातार दुई जित निकाल्दै सुपर-सिक्स नजिक छन्।

यो अवस्थामा एक-एक खेलमा जित निकालेका नेदरल्यान्ड्स र नेपाल यो समूहबाट सुपर-सिक्समा पुग्ने तेस्रो टिम बन्ने समिकरण छ। किनभने लगातार तीन खेलमा पराजित भएको अमेरिका समूह चरणबाटै बाहिरिसकेको छ।
आज नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको अवस्थामा नेपाल सुपर-सिक्समा नपुग्ने एउटा अवस्था भने बाँकी नै हुनेछ।
अन्तिम खेलमा नेदरल्यान्ड्सले दुई पटकको विश्व विजेता वेस्ट इन्डिजलाई पराजित गरे नेपाल सुपर-सिक्स नपुग्न सक्छ। त्यतिबेला रनरेटको आधारमा सुपर-सिक्स तय हुनेछ। अहिलेको अवस्थामा नेपालको भन्दा नेदरल्यान्ड्सको राम्रो रनरेट छ।
नेपाल र नेदरल्यान्ड्स एकदिवसीय खेलमा पाँच वर्षपछि प्रतिस्पर्धा गर्न लागेका हुन्। नेपालले एकदिवसीय मान्यता पाएपछि नेदरल्यान्ड्ससँग दुई खेलको सिरिज खेलेको थियो। पहिलो खेलमा नेपाल ५५ रनले पराजित हुँदा दोस्रो खेलमा १ रनको रोमाञ्चक जित हात पारेको थियो।
१० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्। समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्।
पाँच-पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन-तीन टिम पुग्नेछन्।
सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।