काठमाडौं । सङ्गीतकार सङ्घ नेपालको १३औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अष्ट लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
चेतन सापकोटाको नेतृत्वमा रहेको सङ्घको कार्यसमितिलाई बिदाइ गर्दै सङ्गीतकार लामाको नेतृत्वमा एक जना महिला सदस्य बबिना भट्टराईसहित १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत तेजप्रसाद खरालले जानकारी दिए ।
सङ्गीतकार लामाको अध्यक्षतामा भएको सङ्गीतकार सङ्घ नेपालको वरिष्ठ उपाध्यक्षमा राजेश थापा रहेका छन् । त्यस्तै, सङ्घको प्रथम उपाध्यक्षमा शङ्कर थापा स्माइल, द्वितीय उपाध्यक्षमा राजेन्द्र बजगाईं, महासचिवमा दिनेश बान्तवा राई, सचिवमा दीपक शर्मा र कोषाध्यक्षमा योगेन्द्र उपाध्याय रहेका छन् ।
त्यसैगरी, सदस्यहरूमा बबिना भट्टराई, हरि सायमी, कमलीकान्त भेटवाल, तारावीर पाण्डे, अर्जुन कौशल रहेका छन् । सङ्गीतरत्न शम्भूजित बासकोटा संस्थापक अध्यक्ष रहेको यस सङ्घमा लक्ष्मण शेष, शान्तिराम राई, पारस मुकारुङ र चेतन सापकोटा अध्यक्ष भइसकेका छन् ।
अध्यक्ष लामाले आफू अध्यक्षमा सर्वसम्मत चयन भएसँगै आफ्नो कार्यकालमा सम्पन्न गर्ने निम्न ८ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन्–
१. संस्थाको मुख्य रूपमा कोष अभिवृद्धि गर्ने, त्यसका लागि देउसी, भैलो कार्यक्रम, वार्षिक क्यालेण्डर प्रकाशन, साधारण सदस्यको सङ्ख्या थप्दै लगिने तथा साधारण सदस्यलाई आजीवन सदस्यमा रूपान्तरित गर्न प्रोत्साहित गरिने, कोष अभिवृद्धिको उद्देश्य राखी बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरिने, प्रायोजनमार्फत कोष निर्माणको कार्यलाई सफल बनाउने आदि ।
२. अक्षय कोष निर्माणको लागि सम्बन्धित दाताहरूको पहिचान गरी वातावरण निर्माण गरिदिने तथा उत्प्रेरितसमेत गर्ने ।
३. वर्षमा कम्तीमा एक पटक कार्यक्रम आयोजना गरी अग्रज सङ्गीत श्रष्टाहरूलाई सम्मान तथा अभिनन्दन गरिनेछ ।
४. सङ्गीत कल्याणकारी कोषलाई अझ बढोत्तरी गर्दै सङ्गीतकर्मीहरूको सामाजिक सुरक्षाकेन्द्रित कार्यक्रमलाई अघि बढाइनेछ ।
५. सङ्गीत रोयल्टी सम्वन्धि कार्यक्रम आयोजना गरि सङ्गीतकर्मी सबैलाई हुने गरि सुसूचित गरिनेछ ।
६. आर्थिक पारदिर्शतिालाई मूलमन्त्र बनाई आर्थिक कारोबार विनियमावली निर्माण गरी चुस्तदुरुस्त कार्यान्वयन गरिनेछ ।
७. परेको बेला गरिने श्रष्टा सहयोगलाई विभेदरहित हुने गरिकन स्पष्ट नियमावली तयार गरी नियमभित्र बसी सहयोग गरिनेछ ।
८. नेपाली गीत, सङ्गीतको श्रीवृद्धिको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय, सङ्घ, संस्था सबैसँग सम्भावित सहकार्यको विषय पहिचान गरी समन्वयात्मक कार्यक्रम सम्पन्न गर्ने ।
FACEBOOK COMMENTS