झापा । निर्माणाधीन एसियन हाइवेको पूर्वीखण्डमा कालोपत्र सुरु भएको छ । काँकडभिट्टाबाट केरखासम्मको ४५ किलोमिटरमध्ये दुई दशमलव पाँच किमी सडकमा कालोपत्र सुरु गरिएको काँकडभिट्टा–लौकही सडक आयोजना कार्यालय ९पूर्वी खण्ड०ले जनाएको छ ।
विर्तामोड, मेचीनगर, शिवसताक्षी र कमलका केही स्थानमा तीव्रगतिमा भइरहेको छ । सडक आयोजना कार्यालय (पूर्वी खण्ड) दमकका आयोजना प्रमुख इञ्जिनियर सुनिलबाबु पन्तले सडकको एकातिरको लेनमा पहिलो सतहको कालोपत्र गरिएको बताए । “काम तीव्रगतिमा भइरहेको छ”, उनले भने, “पछिल्लो समय निर्माण व्यवसायीले पनि ध्यान दिएर कामको गति बढाएको छ । वर्षा सकिएको छ, अब चाडपर्व पनि सकिएपछि कामको गति अझै बढ्छ ।” उनले पहिलो सतहको कालोपत्र भएको सडकमा माथिल्लो सतहको पाँच सेन्टिमिटरको कालोपत्र थपिने जानकारी दिए ।
एसियाली विकास बैङ्कको सहयोगमा १० अर्बको लगानीमा एसियन हाइवेको पूर्वीखण्डअन्तर्गत काँकडभिट्टाबाट केरखाको सीतापुरीसम्मको स्तरोन्नति कार्य जारी छ । निर्माणसम्बन्धी ठेक्का लिएको एभ्रास्कन कालिका जेभीले सडकमा पर्ने १५२ वटा कल्भर्टमध्ये ९२ को निर्माण सम्पन्न गरिसकेको जनाएको छ ।
यातायातको अधिक चाप हुने सहरी क्षेत्रमा ओभरपास निर्माण पनि धमाधम भइरहेको आयोजना प्रमुख पन्तले बताए । उनका अनुसार मेचीनगरको चारआली चोकबाट पूर्वतर्फ २५१ मिटर, पश्चिमतर्फ २२६ मिटर र विर्तामोडको चारपानेमा चोकबाट पूर्वतर्फ २०७ मिटर, पश्चिमतर्फ ३०८ मिटर ‘ओभरपास’ निर्माण धमाधम भइरहेको छ ।
आधुनिक ढाँचामा निर्माण भइरहेको ओभरपासमा मानिस र सवारीसाधन आवतजावत गर्ने बेग्लाबेग्लै ठाउँ बनाइने उनले बताए । मेचीनगरको चारआलीअन्तर्गत जङ्गल क्षेत्रमा पर्ने सडकमा हात्तीसहित जङ्गली जनावर ओहोर–दोहोर गर्नका लागि ‘एनिमल अन्डरपास’ पुल निर्माण भइरहेको उहाँले जानकारी दिए ।
पूर्वीखण्डको १८ वटा पुलमध्ये अधिकांशको काम भइरहेको आयोजना प्रमुख पन्तको भनाइ छ । सङ्घीय सरकारले काँकडभिट्टाबाट केरखासम्मको पूर्वी सडकखण्ड निर्माणका लागि दमकमा र केरखाबाट इटहरीसम्मको पश्चिमी सडकखण्डको निर्माणका लागि इटहरीमा कार्यालय स्थापना गरेको छ ।
हालसम्ममा सो सडकखण्डको भौतिक प्रगति २७ प्रतिशत रहेको आयोजना प्रमुख पन्तले जानकारी दिए । सरकारले काँकडभिट्टा–लौकही सडकको ९५ दशमलव ७६ किलोमिटर क्षेत्रमा एसियन हाइवेको निर्माण अघि बढाएको भन्दै उहाँले सहरी क्षेत्रमा छ लेन र ग्रामीण क्षेत्रमा चार लेनको सडक बन्ने उल्लेख गरे ।
FACEBOOK COMMENTS