त्रिवेणी । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले आठबिसकोट नगरपालिकाका बाढी प्रभावितलाई तत्काल राहतको व्यवस्थापन गरिने बताए ।
आठबिसकोट– ११ / १२ का बाढी प्रभावित क्षेत्रको स्थलगत निरिक्षण पछि स्थानीयसँग छलफल गर्दै बाढी प्रभावितलाई तत्काल राहतको व्यवस्थापन गरिने उल्लेख गरे ।
सोमबार राति आठबिसकोट–११ को सिमबजार र वडा नं १२ को झिनचौरमा आएको बाढीले मानवीयसँगै भौतिक संरचनामा क्षति पुर्याएको थियो । प्रभावित स्थानको अवलोकन गर्नुका साथै बाढीमा परी घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको मन्त्रीका प्रमुख स्वकीय सचिव सुन्दर शर्माले बताए ।
बाढीले निम्त्याएको घटनाको विस्तृत अध्ययन, उद्धार, राहत तथा व्यवस्थापनका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउँदै तत्काल सरकारले राहतको व्यवस्थापन गर्ने मन्त्री केसीले प्रतिबद्धता जनाए । साथै घाइते भएकाहरुको उपचारमा सरकारले सहयोग गर्ने उनले बताए । मनसुनजन्य विपद्बाट सुरक्षित रहन सर्तकता अपनाउन पनि उनले जिल्लावासीलाई आग्रह गरे ।
सोमबार राति गिजागार खोलामा आएको बाढीले खोला किनारमा अस्थायी आवासमा बसोबास गर्ने दश वर्षीया हितमाया पुन, आठ वर्षीया धनुसा पुन र चार वर्षीया मनिषा सार्कीको मृत्यु भएको थियो । बाढीले बगाउँदा सोही ठाउँका ३८ वर्षीय डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बाढीका कारण नौ जना घाइते भएका छन् भने दर्जनबढी घर क्षति भएका छन् । साथै सडक, विद्युत्, खानेपानीका पाइपमा क्षति पुग्दा स्थानीयलाई समस्या भएको आठबिसकोट नगरपालिकाले जनाएको छ ।
FACEBOOK COMMENTS