काठमाडौं । अस्ट्रेलिया सरकारले नेपालमा हालै आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्निर्माणका लागि ५० लाख अस्ट्रेलियन डलर मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।
अस्ट्रेलियाको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत नेपालमा कार्यरत विभिन्न साझेदार संस्थामार्फत सहयोग परिचालन गरिने जनाएको हो। उक्त रकम बाढी प्रभावित समुदायको तत्कालीन आवश्यकता पूरा गर्न खाद्यान्न, अस्थायी आश्रय, स्वच्छ खानेपानी, सरसफाइ तथा अन्य अत्यावश्यक सेवामा खर्च गरिनेछ।
घोषित सहयोगमध्ये २० लाख अस्ट्रेलियन डलर विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) मार्फत परिचालन हुनेछ। डब्ल्युएफपीले प्रभावित क्षेत्रमा खाद्यान्न वितरण र आपत्कालीन लजिस्टिक सहयोगको काम यसअघि नै सुरु गरिसकेको अस्ट्रेलियाली विदेश मन्त्रालयले जनाएको छ।
त्यसैगरी, थप २० लाख अस्ट्रेलियन डलर ‘अस्ट्रेलियन ह्युम्यानिटेरियन पार्टनरसिप’ अन्तर्गत अस्ट्रेलियाली गैरसरकारी संस्थामार्फत खर्च गरिनेछ। यस रकमबाट प्रभावित परिवारका लागि आकस्मिक आश्रय, सरसफाइ सामग्री, कम्बल, स्वास्थ्य सेवा तथा मनोसामाजिक परामर्श उपलब्ध गराइनेछ।
बाँकी १० लाख अस्ट्रेलियन डलर भने ‘इमर्जेन्सी एक्सन एलायन्स’ मार्फत स्थानीय तहमा सञ्चालन हुने पुन:स्थापना र पुनर्निर्माणका गतिविधिमा परिचालन गरिने मन्त्रालयले जनाएको छ।

अस्ट्रेलिया सरकारले नेपालमा बाढीबाट प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुन:स्थापना र पुनर्निर्माणमा समेत सहयोग पुर्याउने उद्देश्यले सहायता घोषणा गरेको हो।