काठमाडौँ । आइसीसी टी–२० विश्वकप २०२६ सुरु हुनुभन्दा एक दिन अगाडि अस्ट्रेलियालाई ठूलो झट्का लागेको छ । तीव्र गतिका बलर जोश हेजलवुड चोटका कारण सम्पूर्ण प्रतियोगिताबाट बाहिरिएका छन् ।
यसअघि नियमित कप्तान तथा स्टार तेज बलर प्याट कमिन्सले पनि ढाडको चोटका कारण विश्वकपबाट नाम फिर्ता लिएका थिए । यसको अर्थ अस्ट्रेलियाले पहिलो पटक आफ्नो प्रसिद्ध ’बिग थ्री’ पेस आक्रमण बिना नै आइसीसी प्रतियोगिता खेल्नेछ । मिचेल स्टार्कले पहिले नै टी–२० अन्तर्राष्ट्रिय खेलहरूबाट सन्यास लिइसकेका छन् ।
अस्ट्रेलियाली छनोटकर्ता टोनी डोडेमेडले शुक्रबार, हेजलवुड सुपर ८ चरणसम्म फिट हुने आशा गरेकोमा अब मेडिकल रिपोर्टले सबै आशाहरू चकनाचुर पारेको बताए ।
अस्ट्रेलियाली छनोट समितिले तत्काल कुनै पनि नयाँ खेलाडी टोलीमा समावेश नगर्ने स्पष्ट गरेको छ । टोली व्यवस्थापनले प्रारम्भिक खेलहरूको लागि हालको टोली पर्याप्त रहेको भन्दै आवश्यक परेमा पछि निर्णय गर्ने बताएको छ ।
हेजलवुड र कमिन्स बाहिरिएपछि, मिचेल स्टार्कले पहिले नै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका कारण कमिन्स, स्टार्क र हेजलवुड बिना अष्ट्रेलियाले विश्वकप खेल्ने लामो समयपछि पहिलो पटक हुनेछ । यो परिवर्तनले टोलीको बलिङ रणनीतिमा ठूलो प्रभाव पार्न सक्ने देखिएको छ ।

अब तिब्र गतिको बलिङ आक्रमणको जिम्मेवारी नाथन एलिस, बेन द्वारशुइस, जेभियर बार्टलेट र अलराउन्डरहरूमा पर्नेछ । एडम जाम्पाले स्पिन विभागको नेतृत्व गर्नेछन् ।

अस्ट्रेलियाको टी–२० विश्वकप २०२६ टोलीमा मिचेल मार्श (कप्तान), जेभियर बार्टलेट, कूपर कोनोली, टिम डेभिड, बेन द्वारशुइस, क्यामरुन ग्रीन, नाथन एलिस, ट्राभिस हेड, जोश इङ्गलिस, म्याथ्यू कुह्नेम्यान, ग्लेन म्याक्सवेल, म्याथ्यू रेनशा, मार्कस स्टोइनिस र एडम जाम्पा रहेका छन् ।

अस्ट्रेलिया यस विश्वकपमा समुह बी मा आयोजक राष्ट्र श्रीलंका, आइरल्यान्ड, जिम्बाब्वे र ओमानसँग रहेको छ । अस्ट्रेलियाले विश्वकपमा आफ्नो पहिलो खेल फेब्रुअरी ११ मा आयरल्याण्डविरुद्ध खेलेरे प्रतियोगिताको शुरुवात गर्दैछ ।

FACEBOOK COMMENTS