काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको त्रियुगा नगरपालिका–१ स्थित जागृति महिला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
वन उपभोक्ता समूहको कोषको रकम हिनामिना गरेको आरोपमा आयोगले समितिका तत्कालीन अध्यक्ष मिना कुमारी चौधरी, सचिव जानकी कुमारी चौधरी, कोषाध्यक्ष निलम चौधरी थारु र लेखापरीक्षक तनुक लाल चौधरीविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेले उनीहरूले मिलेमतोमा उपभोक्ता समूहको भवन निर्माण लगायतका कार्यमा वास्तविक खर्चभन्दा बढीको नक्कली बिल भरपाई तयार गरी सरकारी सम्पत्ति हिनामिना गरेका खुलेको बताए ।
अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७७/७८ मा सामुदायिक वनको भवन निर्माण गर्दा प्राविधिक प्रतिवेदनमा ४ लाख ९५ हजार २५१ रुपैयाँ मात्र खर्च भएको देखिए पनि लेखापरीक्षण प्रतिवेदनमा ८ लाख ८ हजार ४५३ रुपैयाँ खर्च भएको देखाई ३ लाख १३ हजारभन्दा बढी रकम हिनामिना गरेको पाइएको उनको भनाइ छ ।
यसैगरी, वन पैदावार संकलन खर्चमा पनि साधारण सभाबाट अनुमोदन भएको रकमभन्दा बढी खर्च देखाएको, उपभोक्ताहरूलाई ग्यास सिलिन्डर वितरण गर्दा स्थलगत जाँचबुझभन्दा बढी खर्च देखाएको र सडक ग्राभेलको काम नै नगरी ७७ हजार ६ सय रुपैयाँ खर्च देखाएर भ्रष्टाचार गरेको आयोगको दाबी छ ।

आयोगले अध्यक्ष, सचिव र कोषाध्यक्षमाथि कुल ५ लाख १५ हजार ३०२ रुपैयाँ ५८ पैसा बराबरको बिगो दाबी गरेको छ । उनीहरूले संस्थाको सार्वजनिक सम्पत्ति बदनियतपूर्वक हिनामिना गरेको पुष्टि भएको भन्दै आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो असुल उपर गरी कैद र जरिवानाको मागदाबी लिएको छ ।


FACEBOOK COMMENTS