काठमाडौं । नाडा अटो शो २०२३ आगामी आजदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदै छ । सन् २०१९ पछि पहिलो पटक आयोजना हुन लागेको अटो शोमा विभिन्न १०० भन्दा धेरै स्टलहरू रहने छन् ।
यस वर्षको अटो शोमा १६ वटा चार पाङ्ग्रे गाडी बिक्रेता, २२ वटा दुई पाङ्ग्रे सवारी बिक्रेता, ७ वटा कमर्शियल गाडी बिक्रेता, ५० हाराहारी टायर, ट्युब हेल्मेट र स्पेयर पार्टस्, बैंक तथा वित्तीय संस्था र इस्योरेन्स कम्पनीहरू सहभागी हुन लागेको आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जानकारी दिएको छ ।
नाडा अटो शोलाई देशकै ठुलो मेला पनि भन्ने गरिन्छ । करिब ७० हजार मानिसले अवलोकन गर्ने अनुमान गरिएको यो शो आजदेखि सञ्चालनमा आउँदै छ । यसै विषयमा नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीसँग कर्पोरेट खबरले गरेको कुराकानीको सम्पादित अंशः
तपाइहरुले आयोजना गर्न लाग्नु भएको नाडा शोबाट के कस्तो अपेक्षाहरु राख्नु भएको छ ?
हामीले अपेक्षा भन्दा पनि सबै भन्दा ठुलो सहयोग मागेका छौँ । सबै अटोमोबाइलस क्षेत्रमा आबद्ध सम्पूर्ण व्यवसायहरुको साथ र सहयोगको अपेक्षा राखेका छौँ । अटो मोबाइल भन्ने के हो भनेर जब सम्म सरकारले बुझदैन तब सम्म विकास सम्भव छैन । जब सम्म यो अपरिहार्य हो भन्ने बुझदैन तब सम्म अर्थतन्त्र सुध्रिन्न । चाहे राजस्वमा होस्, चाहे रोजगारीको कुरा होस, चाहे विकासमा होस् यसको आवश्यकता पर्छ नै । यातायात जसले ल्याए पनि यो अपरिहार्य छ भन्ने कुरा बुझन जरुरी छ । व्यापरि हो व्यापारिले आफ्नो सहजताको लागि कुरा गर्नु हुन्छ । सरकारले अटोमोबाइल क्षेत्रलाई साथ र सहयोग गर्योस भन्ने अपेक्षा राखेका छौँ ।
तपाईहरुसँग कस्तो कस्तो कम्पनीहरू जोडिनु भएको छ ?
हामीले आयोजना गरेको शोमा इभी देखि कमर्शियल भेक्ल सबै पाइन्छ । प्रदर्शनीमा विभिन्न ब्राण्ड र मोडलका सवारीसाधनहरू र त्यसमा प्रयोग हुने टायरट्युब, लुब्रिकेन्ट्स, स्पेयर पार्टस, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवम ग्यारेज उपकरणहरू लगायतका विभिन्न सामग्रीहरू उपलब्ध हुनेछ । यहाँ अहिले बजारमा चलेको ब्रान्डका सवारीसाधनहरु सुपथ मूल्यमा पाइन्छ ।
अन्य समयमा भन्दा अटो शोमा के फरक पाइन्छ ?
मेला भनेको आफ्नो व्यवसायलाई बढाउनको लागि खोलिएको हुन्छ । ग्राहकहरुको सहजता र समयको ख्याल गरेर सञ्चालनमा ल्याएका हुन्छौँ । त्यसैले एकै ठाउँमा विभिन्न ब्रान्डका सवारीसाधन र सामग्रीहरु बुझन सकिन्छ । अन्य समयमा जुन मूल्यमा सामग्रीहरु बजारमा बिक्री हुन्छ त्यो समय भन्दा केही सुपथ मूल्यमा सामग्रीहरु पाउन सकिन्छ । यहाँ व्यापारीलाई भन्दा बढी ग्राहकालाई फाइदा हुन्छ । अब सबै शोरुममा जाने हो भने एक महिनाभन्दा बढी लाग्छ । त्यसैले यो शोले ग्राहकालाई हरेक ब्रान्डका सामग्रीहरु बुझन सहज पुर्याउँछ । यहाँ अटोमोबाइलसको सम्पूर्ण विषय पर्छन् । यो वृहत् शो हो । हामीले कहिले पनि शोबाट बेनिफट लिन चहाँदैनैँ । यो शो गरेर नाडा चल्नु पर्ने हैन ।
व्यवसायमा देखिएका समस्याको उचित समाधान गर्न राज्यले के गर्नुपर्ला ?
यसका लागी राज्यका निकायले हामी व्यावसायीसंग वसेर छलफल गर्नुपर्छ । हाम्रो खास समस्या के हो र यसले कुन कुन क्षेत्रमा कस्तो असर पारिरहेको छ भन्ने विषयमा राज्यका सम्बन्धित निकायहरु जानकार हुनै पर्छ । त्यसपछि समस्याको समाधानका लागि पहलकदमी लिनुपर्छ । हामीले सामान मगाउँदा भन्सार कार्यालयमा अनावश्यक सास्ती खेप्नु परिरहेको छ । तर उक्त सास्तीको विषयमा भन्सार विभागसँग कुरा गर्दा आफूहरुलाई केही थाहा नभएको जस्तो गर्नुहुन्छ । यसले गर्दा पनि भन्सार कार्यालय र विभागबिच नै समन्वय नभएको हो कि भन्ने लाग्छ । अर्को कुरा राष्ट्र वैंकले मौद्रिक नीति ल्याउनु अघि र सरकारले बजेट ल्याउनु अघि व्यावसायीसंग वसेर छलफल गर्दा यसले राम्रो सन्देश जाने मेरो बुझाइ हो ।
शोको लागि पार्किङको व्यवस्था कसरी गरिरहनु भएको छ ?
भृकुटीमण्डपमा प्रयाप्तमात्रामा पार्किङ दिन सक्दैनौ त्यसैले हामीले टुँडिखेल र खुल्लामञ्चलाई बिचमा पारेर सटल बस संचलान गर्दैछौं । हामीले ठाउँ तोकेर पार्किङको व्यवस्था गर्न नसक्ने भएकै कारण पार्किङ आफैँ व्यवस्था गर्न भनिएको हो । हामीकहाँ ठुला पार्किङ छैनन् । तर, भ्यू टावर, सैनिक कल्याण भवन जस्ता ठाउँमा लगेर गाडी पार्किङ गरेर सटल बस चढेर आउन सकेको खण्डमा मेला स्थल वरपर राम्रो हुने हाम्रो अपेक्षा छ । हामी विदेशमा हुने प्रदर्शनीमा १५÷२० किलोमिटर सटल बसको प्रयोग भएको देख्छौँ । नेपालमा पनि हामी पहिलो पटक प्रयास गर्दैछौं । यसलाई सफल बनाउन म सबै अवलोकर्तालाई आह्वान गर्दछु । सटल बस सफल भए प्रदर्शनी केन्द्रमा हुने पार्किङ समस्या सधैँको लागि हट्नेछ ।
FACEBOOK COMMENTS