काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज (सवारी साधन) कर्जा दिने कम्पनीहरुले लिने वार्षिक पेनाल ब्याजदरमा अधिकतम २ प्रतिशत तोकेको छ ।
राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था २०७० लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
कर्जा प्रवाह गर्दा ऋणीसँग गरिने सम्झौतामा वार्षिक पेनाल ब्याजदर २ प्रतिशत विन्दुभन्दा बढी नहुने गरी उल्लेख गर्नुपर्नेछ । पेनाल ब्याज गणना गर्दा म्याद नाघेको किस्ताको साँवा रकममा वार्षिक पेनाल ब्याजदरले विलम्ब भएको समयावधिका लागि कायम हुन आउने रकमभन्दा बढी लिन र पेनाल ब्याजमा ब्याज लाग्ने गरी रकम असुल उपर गर्न पनि पाइने छैन ।
हायर पर्चेज कर्जा दिने कम्पनीले कुनै ग्राहकलाई कर्जा दिँदा ब्याजबाहेक अन्य शुल्क तथा दस्तुर लिन नपाउने जनाइएको छ । यसअघि पेनाल ब्याजदर तोकिएको थिएन ।
हायर पर्चेज कम्पनीलाई कर्जा प्रवाह गर्दा ऋणीसँग स्थायी लेखा नम्बर (पान) अनिवार्य लिनुपर्ने व्यवस्था गरिएको छ । २५ लाख वा सोभन्दा कम कर्जा प्रवाह गरेको व्यक्तिबाट भने स्थायी लेखा नम्बर लिन अनिवार्य नहुने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीका सञ्चालकका सन्दर्भमा थप व्यवस्था गर्दै कम्पनीको नामको पछाडी प्रालि वा लि अनिवार्य राख्नुपर्ने व्यवस्था पनि गरेको छ ।
यसअघि सञ्चालनमा रहेका हायर पर्चेज कर्जा दिने कम्पनीले समेत नाम परिवर्तन गरी राष्ट्र बैंकलाई २०८० पुस मसान्तभित्र जानकारी गराउनुपर्ने संशोधनमा उल्लेख छ ।
nrb auto loan PUBLISH
FACEBOOK COMMENTS