काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रका वर्तमान चुनौती, नीतिगत सुधार, सडक सुरक्षा, पूर्वाधार विकास तथा भविष्यका सम्भावनाबारे केन्द्रित ‘राउन्ड टेबल’ छलफल आइतबार काठमाडौंमा सम्पन्न भएको छ।
कर्पोरेट खबरको आयोजना तथा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको सहकार्यमा आयोजित कार्यक्रममा सरकारी निकाय, निजी क्षेत्र, अटोमोबाइल उद्योग, व्यवसायी तथा विषयविज्ञहरूको सहभागिता रहेको थियो।
‘नेपालको अटोमोबाइल क्षेत्र चुनौती, नीति, सडक सुरक्षा, पूर्वाधार र भविष्य’ विषयक छलफलमा नीतिगत स्थायित्व, लगानीमैत्री वातावरण, सडक सुरक्षा, विद्युतीय सवारीसाधनको प्रवद्र्धन, चार्जिङ पूर्वाधार विस्तार, ट्राफिक व्यवस्थापन तथा अटोमोबाइल क्षेत्रको दिगो विकासलगायतका विषयमा विस्तृत बहस भएको थियो।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य अच्युतम लामिछाने, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष विक्रम सिंहानिया, कोषाध्यक्ष पंकज अग्रवाल, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेम महर्जन, कर्पोरेट म्यागेजिनका उपाध्यक्ष सुष्मा महरा लगायतको उपस्थिति रहेको थियो।
छलफलका क्रममा सहभागीहरूले नेपालको अटोमोबाइल क्षेत्रलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउन नीतिगत स्थायित्व आवश्यक रहेकोमा जोड दिएका थिए। विद्युतीय सवारीसाधनको बढ्दो प्रयोगसँगै चार्जिङ पूर्वाधार विस्तार, सडकको गुणस्तर सुधार, पार्किङ व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने सुझाव पनि दिइएको थियो।


त्यस्तै, अटोमोबाइल व्यवसायमा देखिएका नीतिगत तथा व्यावहारिक समस्याको समाधान गर्दै निजी क्षेत्रलाई लगानीका लागि थप अनुकूल वातावरण बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
कार्यक्रममा उठेका सुझाव तथा समस्याहरू सम्बन्धित निकायसम्म पुर्याई नेपालको अटोमोबाइल क्षेत्रलाई सुरक्षित, व्यवस्थित, वातावरणमैत्री तथा प्रतिस्पर्धी बनाउन आवश्यक नीतिगत सुधारका लागि योगदान पुर्याउने आयोजकले जनाएको छ।
सार्वजनिक र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अटोमोबाइल क्षेत्रको दिगो विकासका लागि साझा धारणा निर्माण गर्ने अपेक्षा पनि कार्यक्रममा व्यक्त गरिएको थियो।
कार्यक्रमको सञ्चालन कर्पोरेट खबरका अध्यक्ष उज्ज्वल जङ्ग शाहले गरेका थिए। छलफलमा उठेका विषय तथा सुझावलाई सम्बन्धित निकायसम्म पुर्याई कार्यान्वयनका लागि आवश्यक पहल तथा सहजीकरण गर्ने प्रतिबद्धता प्रतिनिधिसभा सदस्य लामिछानेले व्यक्त गरेका थिए।


