काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रका वर्तमान चुनौती, नीतिगत सुधार, सडक सुरक्षा, पूर्वाधार विकास तथा भविष्यका सम्भावनाबारे केन्द्रित राउन्डटेबल छलफल बिहीबार काठमाडौंमा सम्पन्न भएको छ।
कर्पोरेट खबरको आयोजना तथा नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ (नाइमा) को सहकार्यमा आयोजित कार्यक्रममा सरकारी निकाय, निजी क्षेत्र, अटोमोबाइल उद्योग, व्यवसायी तथा विषयविज्ञहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
“नेपालको अटोमोबाइल क्षेत्र : चुनौती, नीति, सडक सुरक्षा, पूर्वाधार र भविष्य“ विषयक छलफलमा नीतिगत स्थायित्व, लगानीमैत्री वातावरण, सडक सुरक्षा, विद्युतीय सवारीसाधनको प्रवद्र्धन, चार्जिङ पूर्वाधार विस्तार, ट्राफिक व्यवस्थापन तथा अटोमोबाइल क्षेत्रको दिगो विकासका विषयमा विस्तृत बहस भएको थियो।
छलफलमा प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल, नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा, नाइमाकी अध्यक्ष ऋतु वैद्य, नाइमाका कार्यकारी सदस्य श्याम सापकोटा, नाइमाका कार्यकारी सदस्य तथा स्ट्राटेजी एन्ड मेम्बरसिप अफेयर्स कमिटीका संयोजक आकाश गोल्छा, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सका डीजीएम सुबास दीक्षित, कर्पोरेट मिडिया ग्रुपकी अध्यक्ष सुष्मा महरा लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा उठेका सुझावहरू सम्बन्धित निकायसम्म पुर्याई नेपालको अटोमोबाइल क्षेत्रलाई सुरक्षित, व्यवस्थित, वातावरणमैत्री तथा प्रतिस्पर्धी बनाउन आवश्यक नीतिगत सुधारका लागि योगदान पुर्याउने उद्देश्य आयोजकको रहेको जनाएको छ।
साथै सार्वजनिक र निजी क्षेत्रबीच सहकार्य अभिवृद्धि गर्दै अटोमोबाइल क्षेत्रको दिगो विकासका लागि साझा धारणा निर्माण गर्ने अपेक्षा पनि व्यक्त गरिएको थियो।
कार्यक्रमको सञ्चालन कर्पोरेट खबरका अध्यक्ष उज्ज्वल जङ्ग शाहले गरेका थिए। छलफलका क्रममा उठेका विषयलाई कार्यान्वयनतर्फ लैजान आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले व्यक्त गरेका थिए।