काठमाडौँ । विमान कम्पनीहरूले आगामी तीन दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने भएका छन् । विपत्तिको समयमा महङ्गो शुल्कमा हवाई टिकट बिक्री गरेको भन्दै नागरिकस्तरबाट चर्को आलोचना भएपछि वायुसेवा सञ्चालक सङ्घको आजको बैठकले उक्त निर्णय गरेको हो ।
सङ्घका अध्यक्ष मनोज कार्कीले सोमबार, मङ्गलबार र बुधबारसम्म यात्रुलाई टिकट बिक्री गर्दा अधिकतम मूल्य नलिने निर्णय भएको जानकारी दिए ।
उनले यसका लागि सरकारसँग पनि इन्धन, विमानस्थल शुल्क, ल्याण्डिङ र पार्किङलगायतको शुल्कमा छुट गर्न आग्रह गरिएको बताए । यसो भएको अवस्थामा हवाई भाडादर अझै घटाएर यात्रुलाई सहुलियत दिन सकिने उनको भनाइ छ ।
हवाई भाडा महङ्गो भएको आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत विपत्तिको समयमा यात्रुहरूसँग पहिलेभन्दा सहुलियत मूल्यमा वा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न अनुरोध गरेका थिए ।
हवाई भाडादर बढी लिएको चर्को आलोचना भएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पनि विपद्को अवस्थामा यात्रुसँग बढी भाडा नलिन विमान कम्पनीहरूलाई आग्रह गरेको जनाएको छ । ‘कम्तीमा विपद्को समयमा मानवीय पक्षलाई पनि हेरेर हवाई भाडा सस्तो दरमा उपलब्ध गराउन आग्रह गरेका छौँ,’ प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने ।
हाल अधिकांश सडक अवरूद्ध भएको अवस्थामा यात्रुको चाप भढेकाले हवाई भाडा बढेको हुन सक्ने उनको भनाइ छ ।
‘एअरलाइन्सले लिएको भाडा गैरकानुनी होइन, प्राधिकरणले न्यूनतम र अधिकतम भाडादर तोकेको हुन्छ सोहीअनुसार उनीहरूले भाडा निर्धारण गर्ने चलन छ,’ उनले भने ।
हाल काठमाडौँ आउने मुख्य सडकमार्ग बाढी तथा पहिरोका कारण अवरूद्ध छन् । यस्तो अवस्थामा यातायातको एकमात्र विकल्प भएको हवाई उडानको भाडादर अस्वभाविक रूपमा बढाइएको भन्दै नागरिकस्तरबाट आलोचना भएको हो ।
FACEBOOK COMMENTS