काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अर्थतन्त्रका विषयमा सतही कुरामा भन्दा रणनीतिक र संरचनात्मक रुपान्तरणका मुद्दामा बहस केन्द्रित गर्न सुझाव दिएका छन् ।
चैत २८ र २९ गते हुने साधारण सभाबाट नेतृत्व चयन प्रक्रियामा रहेको महासंघलाई पूर्वप्रधानमन्त्री भट्टराईले मुख्यगरी दीर्घकालीन महत्वका विषयमा केन्द्रित रहेर विमर्श गर्न सामाजिक सञ्जालमार्फत ३ सुझाव दिएका हुन् ।
उनले भनेका छन्-
नेपालका उद्यमी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको राष्ट्रिय सम्मेलनको संघारमा अर्थतन्त्रका तत्कालीन र सतही कुरामा भन्दा रणनीतिक र संरचनात्मक रूपान्तरणका मुद्दामा विमर्श केन्द्रित गरौंः
१. हाम्रो औसत प्रतिव्यक्ति आय विश्वको भन्दा १० गुणा कम छ । यसलाई विश्वको हाराहारीमा पुर्याउन केही दशक निरन्तर दुई अंकको वृद्धिदर चाहिन्छ तर हाम्रो ४० वर्षको औसत वृद्धिदर ४ प्रतिशतवरपर मात्र छ । जबकि, हाम्रा छिमेकी र अरू एसियाली देशले यो बीचमा ठूलो फड्को हानिसके ।
२. सुगौली सन्धीयता हाम्रो वैदेशिक व्यापार घाटा निरन्तर बढ्दै गएर १५ गुणा नाघेको छ । खुला सिमानाबाट झन्डै आधा अर्थतन्त्र चुहिँदै आएको छ । सस्तो श्रमनिर्यात र महँगो निर्मित वस्तु आयातको असमान सम्बन्धले राष्ट्रिय अर्थतन्त्र पूरै पराश्रित बनेको छ । बाच्छाले सँढेसँग जुध्न नसकेझैं हिजो औद्योगिक वस्तुमा परनिर्भर भएका हामी अब कृषिजन्य वस्तुमा पनि परनिर्भर बन्दै छौं ।
३. हाम्रा उद्यमी व्यवसायी उत्पादनशील क्षेत्रमा प्रतिस्पर्धा गर्न नसकेर क्रमशः अरूको विचौलिया बनेर बाँच्ने बाध्यात्मक अवस्थामा पुग्दै छन् । देशको अर्थतन्त्र, राजनीति र राज्य विचौलियाको कब्जामा गइरहेको छ । हाम्रा छोराछेरी देशमा सपना देख्न छाडेर किशोर अवस्थामै विदेश पलायन भइरहेका छन् । यो कहिलेसम्म ?
FACEBOOK COMMENTS