काठमाडौँ । गोरखा-२ बाट प्रतिनिधि सभाको उम्मेदवार बन्न लागेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफुले उम्मेदवारी दिनुका पाँच कारण रहेको बताएका छन् ।
डा। भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गोरखा-२ मा उम्मेदवार बन्न लागेका हुन् । उनी सोहि निर्वाचन क्षेत्रबाट २०७४ को निर्वाचनमा नेपाली काँग्रेसको सहयोगमा विजयी भएका थिए तर २०७९ को निर्वाचनमा भने उनले तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि छोडिदिएका थिए ।
उनले प्रतिनिधिसभा निर्वाचनमा गोरखा-२ बाट उम्मेदवारी दिनुका प्रमुख ५ लक्ष्य र आधार रहेको बताएका छन् ।
जसमा पहिलो बद्लिदो भू-राजनीतिक परिस्थिति र अन्तर्राष्ट्रिय सामरिक टक्करबाट जोगाएर राष्ट्रिय स्वाधीनता,सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने कार्यमा योगदान गर्न रहेको छ ।
त्यस्तै दोस्रो देशमा नयाँ र पुराना राजनीतिक दलहरूवीच र दलहरूभित्रको बढ्दो द्वन्द,असमझदारीले संघीय लोकतान्त्रिक गणतन्त्र नै संकटमा पर्नसक्ने स्थितिमा समन्वयकारी र अभिभावकीय भूमिका सहित लोकतन्त्रको रक्षामा योगदान गर्न रहेको छ भने तेस्रो जेनजी विद्रोहको पृष्ठमूमि र संविधानसभाबाट संविधान निर्माणको दश बर्ष पूरा भएको अवस्थामा संविधानमा आवश्यक संशोधन र सुधारकोनिम्ति संविधानको एक प्रमुख निर्माणकर्ताको हैसियतले प्रतिनिधिसभाबाट आवश्यक भूमिका निर्वाह गर्न रहेको छ ।

त्यस्तै चौथो देशमा सुशासन र आर्थिक समृद्धि प्रमुख एजेण्डा बनेको वर्तमान अवस्थामा अर्थ-राजनीतिको ज्ञान र अनुभवको आधारमा देशको तीब्र आर्थिक-सामाजिक रूपान्तरणको मार्गचित्र तथा कार्ययोजना निर्माण र कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न र पाँचौं आधार गोरखाको विकास-निर्माणमा विगतमा गरेका रूपान्तरणकारी कार्यको जगमा टेकेर भविष्यमा गोरखालाई देशको आधुनिक र समतामूलक आर्थिक विकासको मोडेल बनाउन रहेको बताएका छन् ।


FACEBOOK COMMENTS