काठमाडौं । नेपाल मेडिकल कलेजले नवजात शिशुको श्रवण क्षमता जाँच्न अत्याधुनिक ओकोअकोस्टिक उत्सर्जन (ओएई) उपकरण सञ्चालनमा ल्याएको छ । कलेजको नाक, कान, घाँटी (इएनटी) विभागअन्तर्गत अडियोलोजी युनिटमा यो उपकरण स्थापना गरिएको हो । सोमबार कलेजका अध्यक्ष प्रा .डा. जैनुद्धिन अन्सारीले उपकरणको उद्घाटन गर्दै नवजात शिशुको श्रवण क्षमता परीक्षणका लागि यो प्रविधि निकै महत्वपूर्ण हुने बताए । उनले भने, ‘बच्चा जन्मिएपछि श्रवण परीक्षण गरेमा जन्मजात बहिरोपन नियन्त्रणमा सहयोग पुग्छ । सरकारको नवजात शिशु श्रवण स्क्रिनिङ निर्देशिका २०८१ लाई सघाउन हामीले यो उपकरण भित्र्याएका हौं ।’
काठमाडौंका अधिकांश स्वास्थ्य संस्थामा ओएई उपकरणको अभाव छ । यो समस्यालाई सम्बोधन गर्न नेपाल मेडिकल कलेजले अडियोलोजी युनिटमा उपकरण जडान गरेको छ । यहाँ अन्य अस्पतालमा जन्मिएका शिशुको पनि श्रवण परीक्षण गर्न सकिन्छ । सरकारको निर्देशिकाले सुत्केरी गराउने सबै स्वास्थ्य संस्थामा प्रारम्भिक श्रवण परीक्षण अनिवार्य गरेको छ । स्वास्थ्यकर्मीले श्रवण समस्याको शंका लागेमा नजिकको इएनटी र अडियोलोजी सेवा भएको संस्थामा पठाउनुपर्ने व्यवस्था छ । यसअनुसार नेपाल मेडिकल कलेजले अन्य अस्पतालबाट प्रेषण स्वीकार गर्नेछ ।
निर्देशिकाअनुसार जन्मिएको १२–२४ घण्टाभित्र वा पहिलो फलोअपमा अभिभावकसँग जानकारी लिएर परीक्षण गर्नुपर्छ । प्रारम्भिक परीक्षणमा उपचार सम्भव नभए ओएई उपकरण भएको अस्पतालमा पठाउने व्यवस्था छ । नेपालमा प्रति एक हजार शिशुमध्ये १.८ मा जन्मजात श्रवण समस्या देखिन्छ । २०७८ को जनगणनाले ५ वर्षमुनिका ३ हजार बालबालिकामा श्रवण अपाङ्गता देखाएको थियो । अध्ययनले ६० प्रतिशत बहिरोपन रोकथाम गर्न सकिने जनाउँछ ।
कलेजकी प्रबन्ध निर्देशक डा। साविहा यास्मिनले भनिन्, ‘श्रवण परीक्षणले बहिरोपन रोक्न ठूलो भूमिका खेल्छ । सरकारको नीतिअनुसार हामीले यो सेवा सुरु गरेका हौं’ । कलेजले स्वास्थ्य सेवाको गुणस्तर वृद्धिका लागि नवीन प्रविधि र उपकरण भित्र्याइरहेको जनाएको छ ।
FACEBOOK COMMENTS