सङ्खुवासभा बाढीपहिरो अपडेट : बेपत्ताको खोजी कार्य जारी
कर्पोरट खबर
3:07 pm, बुधबार, असार ६, २०८०
सङ्खुवासभा । सङ्खुवासभामा बाढीपहिरामा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ । गत शनिबार राति अविरल वर्षासँगै आएको बाढीपहिराका कारण २० जना बेपत्ता भएका थिए ।
बाढी पहिरामा परेर बेपत्ता भएकाको आज चौथो दिन पनि खोज जारी रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुए। उनका अनुसार बेपत्ताको खोजीका लागि हेवाखोला र सभाखोलाको बगरमा प्रहरीको टोली परिचालित छन् । वर्षाका कारण खोजीमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।
प्रनाउ गोदारले घटनास्थलमा स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको टोली खोजीमा सक्रिय रहेका जानकारी दिए । उनका अनुसार बाढीपहिरामा परी बेपत्ता भएका सङ्खसवासभाका विभिन्न स्थानका २० जनाको अवस्था अझै अज्ञात छ ।
“बेपत्ता २१ जनामध्ये सोमबार एक जनाको शव फेला परेको थियो । अन्य २० जनाको पहिचान खुलेको छ । शवको शरीरको आधा भाग पनि फेला नपरेकाले पहिचान भएको छैन”, प्रनाउ गोदारले भने । उहाँका अनुसार बेपत्तामध्ये चैनपुर नगरपालिका–४ मा निर्माणाधीन सुपर हेवा हाइड्रोपावरका मात्रै १७ जना मजदुर छन् ।
बाढीले सभापोखरीमा दुई, चैनपुरको नुनढाकीमा एक र अप्पर हेवाखोला हाइड्रोपावरका एकजना मजदुर पनि अझै बेपत्ता छन् । बाढीले बगाउँदा सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने दुईजना मजदुर घाइते भएका छन् । गम्भीर घाइते दुवैको उपचार भइरहेको प्रहरीले जनाएको छ । चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिराले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो जनधनको क्षति भएको छ ।
बाढीपहिरामा बेपत्ता हुनेहरु
बेपत्ता हुनेहरुमा सुपर हेवा हाइड्रोपावरका सुपरभाइजर सुनसरी इटहरीका सन्तोष ढकाल, चैनपुर नगरपालिका–४ का भुवनसिंह तामाङ, चैनपुरका सुवास राई, सुपरभाइजर झापा गौराहदहका फैजबहादुर कार्की, धनकुटा पाख्रीबासका गणेश गिरी, इलामका राजकुमार मगर, झापाका मीना श्रेष्ठ ९भान्से०, कैलालीका रामजतन थारू, बर्दियाका राहुल थारू, रोहित थारू, पुलसन थारू, कालीराम थारू, राजराम थारू, कैलालीका सुगत थारू, अमर थारू, सीता थारू र सङ्खुवासभा पाँचखपनका दीपक मगर रहेका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो ।
यस्तै, सभापोखरी–३ सुनाम्लामा गोठ बगाउँदा ६० वर्षीय गणेश राई र ६१ वर्षीया सञ्चमाया राई बेपत्ता भएका छन् । चैनपुर नगरपालिका–१ नुनढाकीमा बर्दिया नगरपालिकाका भीम चौधरी, अपर हेवाखोला हाइड्रोपावरका मजदुर चैनपुर नरपालिका–४ का ५० वर्षीय ज्ञानबहादुर लिम्बू पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS