काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले देशका केही जिल्लामा आकस्मिक बाढीको जोखिम उच्च रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार आज बारा, पर्सा, रौतहट, काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, काभ्रेपलाञ्चोक, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र आसपासका जिल्लामा साना नदीहरूको वहाव उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना रहेको छ।
यस क्षेत्रमा बहने स–साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै महाशाखाले स्थानीय बासिन्दा, सरोकारवाला निकाय र सुरक्षाकर्मीलाई सतर्क रहन आग्रह गरेको छ। बाढीको सम्भावित असरबाट ज्यान र सम्पत्तिमा क्षति हुन नदिन सावधानीपूर्वक निगरानी गर्न समेत अनुरोध गरिएको छ।
महाशाखाले आवश्यकता परेमा सुरक्षित स्थानमा बस्न र बाढीको जोखिमका बारेमा स्थानीय प्रशासनसँग सम्पर्कमा रहन पनि सबैलाई अपिल गरेको छ।