काठमाडौं । नेपाल राष्ट्र बैङ्कमा क्रियाशील तीनवटा कर्मचारी युनियन नेपाल राष्ट्र बैङ्क कर्मचारी सङ्घ, नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले जेठ १६ र १७ गते विराटनगरको शहीद रङ्गशालास्थित कभर्ड हलमा संयुक्त रूपमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिताको उपाधि नेपाल राष्ट्र बैङ्कले जितेको छ ।
बेष्ट अफ थ्रीको आधारमा खेलाइएको खेलमा प्राइम कमर्सियल बैङ्क लिमिटेडका सोनाम लामा र भेषराज भुजेलको जोडीलाई २१–१८ र २४–२२ को सोझो सेटमा पराजित गर्दै नेपाल राष्ट्र बैङ्कका रगेन्द्र साम्बा र सुजनकुमार विश्वकर्माको जोडीले उपाधि हात पारेका हुन् । प्रतियोगितामा नेपाल बैङ्क लिमिटेड र राष्ट्रिय वाणिज्य बैङ्क तृतीय स्थान हासिल गर्न सफल भए ।
एभरेष्ट बैङ्क लिमिटेको मुख्य प्रायोजन, नबिल बैङ्क, हिमालयन बैङ्क र कृषि विकास बैङ्कको प्रायोजन तथा प्रभु बैङ्कको सहप्रायोजनमा सम्पन्न प्रतियोगितामा २१ वटा बैङ्क तथा वित्तीय संस्थाका कुल ३१ टिमको सहभागिता थियो । प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरेका छन् ।
विजयी टिम तथा खेलाडीहरूलाई नेपाल राष्ट्र बैङ्कका निर्देशक शैलेन्द्र रेग्मी, एभरेष्ट बैङ्क लिमिटेड विराटनगर शाखाका प्रमुख विनय घिमिरे तथा रेफ्री लवभक्त श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।
FACEBOOK COMMENTS