छठ पर्वमा बाग्मती नदीमा धाप ड्यामको पानी छाडिने
कर्पोरट खबर
6:47 am, बुधबार, कात्तिक २१, २०८१
काठमाडौँ । पछिल्ला केही वर्षयता काठमाडौँमा पनि छठ पर्वलाई धुमधामसँग मनाउन थालिएको छ ।
यसपटक पनि छठ सुरु भइसकेपछि काठमाडौँ उपत्यकाका नदी, पोखरी तथा तलाउ छेउमा सजावट सुरु भइसकेको छ । उपत्यकामा पनि छठ पर्व मनाउने तयारी सुरु भइसकेपछि बाग्मती नदीमा पानीको सतह बढाउने पनि तयारी भइरहेको छ ।
एकीकृत बागमती सभ्यता विकास समितिअन्तर्गत बाग्मती सुधार आयोजनाले छठ पर्वमा धाप ड्यामको पानी वाग्मती नदीमा छाड्ने तयारी गरिहेको जनाएको छ । वाग्मती नदीमा पानीको सतह बढाउन र व्रर्तालुलाई स्नानका लागि सहज होस् भन्ने उद्देश्यले ड्यामको पानी नदीमा छाड्ने तयारी गरेको हो ।
आयोजनाका उप–निर्देशक तथा सूचना अधिकृत उद्धव नेपालले बुधबार साँझदेखि पानी नदीमा छाड्ने तयारी भइरहेको जानकारी दिए । “धाप ड्यामको पानी छाडेपछि पशुपति क्षेत्रसम्म आइपुग्नका लागि १४ घण्टा लाग्छ, तसर्थ छठको अघिल्लो दिनबाटै पानी छाड्ने तयारी गरेका हौँ”, उनले भने, “विषेश दिनमा हामीले ड्यामको पानी वागमतीमा छाड्दै आएका छौँ ।”
प्रतिसेकेण्ड चार सय लिटर
समितिले छठ पर्वको दुई दिनसम्म वाग्मती नदीमा प्रतिसेकेण्ड चार सय लिटर पानी छाड्ने तयारी गरिरहेको जनाएको छ । “ड्यामको पानी नदीमा छाड्दा व्रतालुको घुँडासम्म पानी आउने अनुमान गरेका छौँ, त्यसो हुँदा व्रतालुहरुलाई स्नान गर्न र पानी चढाउन सहज हुन्छ”, नेपालले भने, “मेलम्ची खानेपानी विकास समितिसँग पनि पानी छाड्नका लागि आग्रह गर्ने छौँ ।”
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले आधिकारिक रुपमा पानी छाड्न आग्रह गरिएको खण्डमा दैनिक १० करोड लिटरसम्म मेलम्चीको पानी उपलब्ध गराउन सकिने जानकारी दिए । “मनसुनजन्य विपद्बाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउनका लागि केही महिना आयोजना नै बन्द गर्नुपरेको थियो, त्यसबेला धाप ड्यामकै पानी ल्याएर काठमाडौँका उपभोक्तालाई खानेपानीको आवश्यकता पूरा गरेका थियौ”, उनले भने, “हामीले सापटीका रुपमा पानी ल्याएका थियौ, अहिले दैनिक पाँच करोड लिटरसम्म बढी भएको पानी वाग्मती नदीमै बगाएका छौँ, आवश्यक परेमा छठ पर्वको समयमा दैनिक १० करोड लिटरसम्म पानी वाग्मती नदीमा बगाउन सक्छौँ ।”
मेलम्ची खानेपानी आयोजनाबाट हाल दैनिक २५ करोड लिटर बराबरको खानेपानी उपत्यकामा दैनिक आउने गरेको उनको भनाइ छ । लामिछानेले उपभोक्तामा २५ करोड लिटर पानी नै खपत नभएपछि बाँकी रहेको पानी वाग्मती नदमा पानीको सतह बढाउन छाडिने गरेको बताए ।
छठ पूजा विशेष गरेर नेपालका तराई क्षेत्रका नेपालीहरूको प्रमुख पर्व हो । यो पर्व सूर्य उपासनासँग सम्बन्धित छ । छठमा विशेषगरी महिलाहरूले सूर्यदेव र छठी माताको आराधना गर्दै आफ्नो परिवारको कल्याण र समृद्धिको कामना गर्छन् ।
छठ पर्व चार दिनसम्म मनाइन्छ । यस पर्वका निष्ठा, पवित्रता र अनुशासनको विशेष महत्त्व हुने गर्छ । छठ पूजा कार्तिक शुक्ल चतुर्थीदेखि सुरु हुन्छ र सप्तमीका दिन सम्पन्न हुन्छ । यसमा नुहाउने, खाने, खरना, संध्या अर्घ्य र बिहानको अर्घ्य दिने दिन जस्ता विभिन्न चरणहरू हुन्छन् । मानव र प्रकृतिलाई छाड्ने पर्वको रुपमा पनि छठ पर्वलाई लिने गरिन्छ ।
FACEBOOK COMMENTS