काठमाडौं । वागमती प्रदेशमा ऊर्जा, पर्यटन र कृषिक्षेत्रको उच्च व्यावसायिक सम्भावना देखिएको छ । यस प्रदेशभित्र उच्च भौगोलिक विविधता रहेकाले कृषि, पर्यटन र ऊर्जाको तुलनात्मक रूपमा बढी सम्भावना देखिएको हो ।
नेपाल राष्ट्र बैंकले वागमती प्रदेशको आर्थिक गतिविधि सम्बन्धमा गरेको अध्ययनले यस्तो देखाएको हो । राष्ट्र बैंकले गत आर्थिक वर्षको पहिलो ६ महीनाको तथ्यांकको आधारमा उक्त अध्ययन गरेको थियो । उक्त अध्ययनको प्रतिवेदन हालै सार्वजनिक गर्दै त्यहाँ कृषि, पर्यटन र ऊर्जाको तुलनात्मक रूपमा बढी सम्भावना देखिएको बताएको हो ।
यस प्रदेशअन्तर्गतका जिल्लामध्ये हिमाली भेगमा धादिङ, काभ्रेपलाल्चोक र नुवाकोट, उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुर तथा भित्री मधेशमा मकवानपुर, चितवन जिल्ला रहेका छन् । यसरी प्रदेश भित्र उच्च भौगोलिक विविधता रहेको हुँदा यस्तो सम्भावना देखिएको हो ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा। प्रकाशकुमार श्रेष्ठले वागमतीमा कृषि, पर्यटन र ऊर्जाको बढी सम्भावना देखिएको बताए । ‘हुन त अन्य क्षेत्रमा पनि सम्भावना छन्, तर बढी मात्रामा कृषि, पर्यटन र ऊर्जामा व्यावसायिक सम्भावना देखिएको छ,’ उनले भने, ‘यो नै पूर्ण नहुन पनि सक्छ । तर, हामीले फिल्ड भिजिट नै गरेर यस्तो निष्कर्ष निकालेका हौं ।’
वागमती प्रदेशमा जलविद्युत् उत्पादनका लागि उपयुक्त भौगोलिक अवस्थिति र जलस्रोतको उपलब्धता रहेको प्रतिवेदनमा उल्लेख छ । विशेषगरी दोलखा, सिन्धुपाल्चोकलगायत जिल्लामा जलविद्युत्को उच्च सम्भावना देखिएको छ ।
कृषितर्फ धादिङ, भक्तपुर, काभ्रे तथा नुवाकोटलाई तरकारी पकेट क्षेत्रका रूपमा विकास गर्न सकिने अध्ययनले देखाएको छ । यस प्रदेशमा संघीय राजधानीको अतिरिक्त बनेपा, धुलिखेल, नारायणघाट, हेटौंडाजस्ता उच्च जनसंख्या भएका शहरहरू पनि छन् । उक्त अवस्थामा प्रशोधित खाद्यान्न, तरकारी, फलपूmल, माछा, मासुलगायत वस्तुको बजारको पनि उच्च सम्भावना रहेको अध्ययनले प्रतिवेदनमा उल्लेख छ ।
यसैगरि वैदेशिक रोजगारबाट फर्कने युवालाई कृषिक्षेत्रमा आकर्षण गर्न सके कृषिक्षेत्रलाई व्यवसायीकरण गर्न सकिने पनि अध्ययनले देखाएको छ । यसबाहेक अन्तरराष्ट्रिय उडानमार्फत उच्च मूल्यका कृषि उपजहरू पनि निर्यात गर्न सकिने पनि प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, यस प्रदेशमा पर्यटन व्यवसायको पनि उच्च सम्भावना देखिएको छ । विशेषगरी प्रदेशभित्र काठमाडौं उपत्यका, चितवनको सौराहा, स्याफ्रुबेंशी, हेलम्बुलगायत पर्यटकीय क्षेत्र भएकाले पर्यटनको विकास गर्न सकिने अधिक सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ । यसका लागि पर्यटन पूर्वाधारमा पनि लगानी बढाउन आवश्यक रहेको देखिएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS