ललितपुर । गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा शुक्रबार आयोजित कार्यक्रमबीच एकदिवसीय बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८२ ललितपुरको हरिहरभवनमा सम्पन्न भएको छ ।
नेपाल सरकार गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो । उक्त अवसरमा गृहमन्त्री अर्यालले समाजमा शान्ति सुव्यवस्था कायम गर्नु वर्तमान सरकारको मुख्य उद्देश्य रहेको चर्चा गर्दै विगतमा भएका कमि कमजोरीलाई सुधार गरी नागरिकसँग सहकार्य गर्दै सुदृढ सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो ।
गोष्ठीले प्रदेश अन्तर्गतका जिल्लाहरूको शान्ति सुरक्षा प्रभावकारी बनाउन र भएका समस्या एवम् चुनौतीलाई समाधान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै सुरक्षा निकायहरूको मनोबल बढाउने कार्यमा समेत नेपाल सरकार सदैव क्रियाशील रहेको बताउनुभयो । आसन्न निर्वाचनलाई निर्धारित समयमै सम्पन्न गराउन नेपाल सरकार प्रतिबद्ध रहेको उहाँले बताए ।
सो अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ, बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारी र बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले आ–आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
गोष्ठीमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रदेशको शान्ति सुरक्षा प्रभावकारी बनाउन तथा देखिएका सुरक्षा चुनौतिहरूको सम्बोधनको लागि यस गोष्ठी फलदायी हुने बताउनुभयो । सूचना संकलन तथा विश्लेषणलाई थप प्रभावकारी बनाउँदै समग्र प्रदेशको शान्ति सुरक्षा कायम गर्न आवश्यक सुरक्षा योजना अवलम्बन गरी अन्य सरोकारवाला निकायहरूसँग समन्वय तथा सहकार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । आसन्न निर्वाचनलाई केन्द्रमा राखेर सुरक्षा सतर्कता अपनाउन आवश्यक रहेको बताउँदै निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन योजनाबद्ध रूपमा थप सक्रियता एवम् रचनात्मक ढंगले आ–आफ्नो कार्यक्षेत्रमा अग्रसर रहि कार्य गर्न प्रदेश तथा जिल्ला प्रहरी प्रमुखहरूलाई उनले
निर्देशन दिए ।
नेपाली सेनाका रथी प्रदिपजंग केसी, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीले प्रदेशस्तरीय सुरक्षा गोष्ठीको बारेमा आ–आफ्नो मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्ण बहादुर शाहीले बागमती प्रदेशको सुरक्षा अवस्था र सुरक्षा चुनौती सम्बन्धि प्रस्तुतीकरण गर्नुभएको थियो । सो अवसरमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले स्वागत मन्तव्य तथा गोष्ठीको उद्देश्यका बारेमा जानकारी दिनुभएको थियो । गोष्ठीमा बागमती प्रदेश अन्तर्गत १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ–आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव राजकुमार श्रेष्ठले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
FACEBOOK COMMENTS