जङ्गलका पातपतिङ्गरबाट मल बनाउने तयारी
कर्पोरट खबर
7:33 am, बिहीबार, असार १९, २०८२
रसुवा । वनमा खेरजाने रूखका पातपतिङ्गरलाई सदुपयोग गर्दै खेतबारीमा प्रयोग हुने मलका रूपमा उपयोग गरिने भएको छ ।
आज रसुवा जिल्ला समन्वय समितिले आयोजना गरेको जिल्लामा भएका विकास निर्माणको समीक्षा कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले प्रथम चरणअन्तर्गत परीक्षणका रूपमा चितवानलगायत केही जिल्लाबाट कार्य सुरु गर्नेगरी कार्ययोजना स्वीकृत भइसकेको बताए ।
वनमा झरेका पातको सदुपयोगबाट एकातिर डढेलोे कम भई वनवनस्पतिको संरक्षण, अर्कातर्फ पातपतिङ्गरलाई मलमा परिणत गरी खेतबारीमा प्रयोग गर्दा कृषिउपज बढाउने, पातपतिङ्गर सङ्कलनकर्तालाई आर्थिक लाभसमेत हुने भएकाले प्रदेश सरकारले यो कार्य अगाडि बढाउन लागेको उनको भनाइ थियो ।
प्रदेश सरकारले रसुवाको समग्र विकासका लागि ९२ करोड विनियोजन गरेको पनि समीक्षा बैठकका सहभागीलाई मन्त्री सिलवालले जानकारी दिए ।
जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरेको सभापतित्वमा सम्पन्न समीक्षामा जिल्लास्थित कार्यालय र रसुवालाई कार्यथलो बनाई धादिङ र नुवाकोटमा रहेका विकाससँग सम्बन्धित निकायका प्रमुख तथा प्रमुख राजनीतिक दलका प्रतिनिधि, स्थानीय प्रशासकलगायतको सहभागिता रहेको थियो ।
यसैगरी, पवित्र तीर्थस्थल गोसाइँकुण्ड, उत्तरगयाधाम, पार्वतीकुण्डजस्ता धार्मिक तथा पर्यटकीय क्षेत्र र लाङ्टाङ जस्ता सम्पदाको संरक्षणमा विशेष ध्यान दिई संरक्षण र पूर्वाधार निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।
FACEBOOK COMMENTS