काठमाडौँ । बागमती नदी किनार अतिक्रमणको क्रम तीव्र र भयावह बन्दै गएको छ । बागमती–मनहरा दोभानदेखि सुन्दरीघाटसम्म अहिलेसम्म ठूला–साना गरी तीन दर्जनभन्दा बढी स्थायी संरचना नै निर्माण भइसकेका छन्।
कच्ची आवासको सङ्ख्या अझ बढी रहेका छन् । बागद्वारदेखि कटुवाल दहसम्म कुल ४८ किलोमिटर लम्बाइ रहेको बागमती नदी किनारमा संरचना निर्माण हुने क्रम अझै रोकिएको छैन । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नै नर्सरी सञ्चालन गर्न, ड्राइभिङ सेन्टर चलाउन, पार्किङ सञ्चालनलगायत विभिन्न व्यावसायिक प्रयोजनका लागि व्यक्ति, क्लब तथा सङ्घसंस्थालाई बागमती नदी किनारका जग्गा कहीँ भाडामा त कहीँ निःशुल्क नै दिएको पाइएको छ। यहाँसम्म कि बागमती नदी किनारमा निर्माण गरिएको पार्क सःशुल्क सञ्चालन गरिएको छ ।
त्यसैगरी विभिन्न शक्ति केन्द्रको पहुँच तथा भनसुनका आधारमा केही वर्षयता बागमती नदीको क्षेत्राधिकारभित्र विभिन्न पार्क, वडा कार्यालय, विभिन्न धार्मिक सम्प्रदायका मठ–मन्दिर, योग केन्द्र, ध्यान केन्द्र, पूजा तथा हवन मण्डप, किरियापुत्री घर, श्राद्ध भवन, प्रहरी कार्यालय, शौचालयलगायतका ठूलाठूला स्थायी संरचना निर्माण भएका छन्। बागमती नदी गुरुयोजनाविपरीत यस्ता संरचना निर्माण हुने क्रम अझै जारी छ ।
त्यति मात्र नभई काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेल)ले बल्खु पुलसँगै बागमती नदी किनारमा डिप ट्युबवेल र ललितपुर ज्वागलस्थित यूएन पार्कभित्र खानेपानी पम्प स्टेसन निर्माण गरी पानी वितरण गर्दै आएको छ।
नदी किनार क्षेत्रमा निर्माण गरिएका संरचनाबारे अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सेनाले भने, “नदीको क्षेत्राधिकारभित्र स्थायी संरचना निर्माण गर्न कसैलाई अनुमति दिइएको छैन। यदि कथम्कदाचित कसैलाई दिइएको छ भने त्यो खारेज गरिनेछ। दिइएको सहमति समितिले कुनै पनि बेला फिर्ता लिन सक्छ।” उनले अगाडि भने, “बागमती किनारका अनाधिकृत संरचना हट्नुपर्छ भन्ने हाम्रो मान्यता हो।”
सानेपास्थित बीपी पार्क र मनमोहन पार्क बनाई त्यसमा ठूला–ठूला पक्की भवनसमेत निर्माण गरिएको भन्ने जिज्ञासामा समितिका अध्यक्ष तिमल्सेनाले भने, “सबभन्दा ठूलो समस्या भनेकै राजनीतिक दलका नेताहरूकै संलग्नतामा सार्वजनिक जग्गा अतिक्रमण गरिएपछिको हो। त्यसका बारेमा हामी अनुसन्धान गर्छौं ।”
ेअध्यक्ष तिमल्सेनाको दाबीविपरीत मनमोहन पार्क निर्माण समितिका अध्यक्ष राजेन्द्र थापामगरले अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँग लिखित सम्झौता गरेर पार्क तथा भवनलगायतका स्थायी संरचना निर्माण गरिएको बताएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS