काठमाडौं । कामको खोजीमा विदेश गएका मध्ये १ हजार तीन सय नेपालीको मृत्यु भएको छ ।
मृत्यु, अंगभंग, विरामी तथा मृतकका अभिमुखिकरणका लागि करिब ९८ करोड रूपैयाँ सहयोग गरेको वैदेशिक रोजगार बोर्डले सार्वजनिक गरेको २०८०–८१ को प्रतिवेदनले सो कुरा देखाएको हो ।
बोर्डले सार्वजानिक गरेको प्रगति प्रतिवेदन अनुसार वैदेशिक रोजगारीको सिलसिलामा ४१ महिला सहित १ हजार ३०५ नेपाली श्रमिकको रोजगारी क्रममा विदेश मृत्यु भएको उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता लिनेको संख्या १ हजार २०८ रहेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा विदेशमा मृत्यु हुने नेपालीको संख्या १३८ जनाले बढेको छ । बोर्डका निर्देशक टिकाराम ढकालले वैदेशिक रोजगारीमा रहेका युवाका लागि प्रदान गदै आएको विभिन्न शीर्षकअन्तर्गत गत आवमा ९८ करोडको हाराहारीमा आर्थिक सहयोग गरेको बताएका छन् ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा मृत्यु हुने नेपालीको संख्या बढेको छ । बोर्डले मृतक आफन्त, अंगभंग, बिरामी, उद्दार, शव व्यवस्थापन अभिमुखिकरण र उपचारका लागि गर्ने खर्च गर्ने छ । अघिल्लो आवमा यो शिर्षकमा ८४ करोड ८० लाख सहायता रकम वितरण भएको थियो । मृत्यु, अंगभंग तथा बिरामीको संख्या बढेसँगै अनिवार्य दायित्व भित्र पर्ने सहयोग रमक समेत बढदै गएको बोर्डले जनाएको छ । गत वर्षमा विदेशमा मृत्यु भएको संख्या आर्थिक सहायता लिने मापदण्डमा परेका श्रमिकको मात्र हो ।
विदेशमा मृत्यु भएका तर सरकारबाट आर्थिक सहायता पाउने मापदण्डमा नपरेको संख्या जोडदा विदेशमा मृत्यु हुनेको संख्या अझ बढी छ । गत आवमा अंगभंग, विरामी भएका श्रमिकको संख्या ६५३ रहेको थियो । यसरी अंगभंग, विरामी भएका श्रमिकका लागि लगभग १९ करोड ४६ लाख रूपैयाँ आर्थिक सहायता वितरण गरिएको थियो ।
बोर्डले गत वर्ष विदेशमा मृत्यु भएकामध्ये ७७५ श्रमिकको शव गृह जिल्ला ढुवानी गर्न ३ करोड ४१ लाख रूपैया खर्च गरेको जनाएको छ । यसरी विदेशबाट ३०८ श्रमिकको शव झिकाउन ३ करोड ७३ लाख रूपैयाँ आर्थिक सहयोग गरेको थियो ।
यो बाहेक सरकारले विदेशमा मृत्यु हुने श्रमिकका नजिकका हकवालालाई ७ लाख रूपैयाका दरले आर्थिक सहायता दिदै आएको छ । बोर्डले सार्वजानिक गरेको वार्षिक प्रतिवेदन अनुसार सबै भन्दा कम मृत्यु दर युएई ०.२१ प्रतिशत, कतार ०.२४, साउदी अरब ०.३९ र सबै भन्दा बढी मलेसिया ०.८३ प्रतिशत रहेको छ । विगत ३ वर्षयता रोजगारीका क्रममा मृत्यु भई आर्थिक सहायता लिने बढदै गइरहेको प्रतिवेदनले देखाएको छ ।
मृतक श्रमिकका परिवारलाई दिँदै आएको आर्थिक सहायता रकम पाउने मापदण्डको दायरा फराकिलो भएसँगै आर्थिक सहायता खर्च समेत बृद्धि हुँदै आएको छ । बोर्डले आर्थिक सहायता र अन्य सामाजिक कार्यका लागि दिदै आएको सेवा अनलाईनमार्फत गरेसँगै सेवाग्राही संख्या बढेर सहयोग रकम पनि बढेको हो । यस अघि वैदेशिक रोजगार कल्याणकारी कोषमा रहेको रकम विदेशमा मृत्यु भएको अवस्थामा मात्र श्रमिकका आफन्तले पाउनेमा वैदेशिक रोजगार ऐनको व्यवस्था संशोधन भएर श्रम स्वीकृतीको अवधिमा नेपालमा रहदा मृत्यु भए पनि ७ लाख रूपैयाँ पाउने निर्णय भएपछि सहयोग लिनेको संख्या बढेको छ ।
FACEBOOK COMMENTS