काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि एकमात्र आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड को प्रालिले भृकुटीमण्डपमा जारी नाडा अटो शोमा अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर बजाज पल्सर एनएस ४०० जेड लन्च गरेको छ ।
नयाँ पल्सर एनएस ४०० जेडले पावर, प्रविधि, र डिजाइनको संयोजनमार्फत बजाजप्रेमी नेपालीहरूलाई रोमाञ्चक राइडको अनुभव दिने कम्पनीको विश्वास छ ।
लामो समयदेखि प्रतीक्षित बजाज पल्सर एनएस ४०० जेड मा ३७३ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन समावेश छन्, जसले ३९.४ ब्रेक हर्स पावर र ३५ एनएमको टर्क दिन्छन् । ६ गियरसम्मको गियरबक्स रहेको यस मोटरसाइकलमा गियर परिवर्तन निकै सहज छ । साथै पल्सर एनएस ४०० जेडमा राइड-बाइ-वाइर प्रविधि पनि समावेश छ, जसले राम्रो थ्रोटल रेस्पोन्स दिनुका साथै पेट्रोलको खपत पनि कम गर्दछ ।
लन्चका क्रममा गोल्छा ग्रुपका निर्देशक अभिमन्यू गोल्छाले उत्साह व्यक्त गर्दै भने, ‘नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर बजाज पल्सर एनएस ४०० जेड सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुसी छौं । पल्सर ब्राण्ड सधैं पर्फमेन्स र इनोभेसनको प्रतीकको रूपमा चिनिन्छ र हामी विश्वास गर्छौं कि नेपाली बजारमा लामो समयदेखि प्रतीक्षित एनएस ४०० जेडले यो विरासतलाई नयाँ उचाइमा पुर्याउनेछ ।’
बजाज पल्सर एनएस ४०० जेड अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट रहेको कम्पनीको दाबी छ । यसमा रोड, रेन, स्पोर्ट र अफरोड गरी चारवटा राइडिङ मोडहरू समावेश छन् । साथै स्विच गर्न सकिने ट्र्याक्सन कन्ट्रोल र डुअल च्यानल एबीएस पनि यसमा उपलब्ध छ, जसले सबै अवस्थाका रोडमा उत्कृष्ट सुरक्षा सुनिश्चित गर्दछ ।
यो बाइकमा ब्लुटुथ कनेक्सनसहितको नयाँ फुल कलर एलसीडी स्क्रिन पनि समावेश छ, जसले टर्न-बाइ-टर्न नेभिगेसन, म्युजिक कन्ट्रोल र अन्य आवश्यक राइड डेटा पनि प्रदान गर्दछ ।
मस्कुलर र एरोडाइनामिक प्रोफाइलका साथ डिजाइन गरिएको पल्सर एनएस ४०० जेडमा उत्कृष्ट डिजाइनको फ्युल ट्यांक, आरामदायी स्प्लिट सिट र स्टाइलिस १७ इन्च एलोय ह्वील दिइएको छ । १२ लिटर क्षमताको पेट्रोल ट्यांक र ८०७ मिलिमिटरको सिटको उचाइ रहेकाले पल्सर एनएस ४०० जेड सिटी राइड र लामो दूरीको यात्रा दुवैका लागि उपयुक्त छ ।
भदौ ११ देखि भदौ १६ सम्म भृकुटीमण्डपमा भइरहेको नाडा अटो शोमा बुकिङ गर्ने ग्राहकहरूले ५ लाख ५९ हजार ९०० रूपैयाँमा पल्सर एनएस ४०० जेड खरिद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
नाडा अटो शोमा बजाजले ‘एक्सप्रेस योर सेल्फ’ नामको अन्तरक्रियात्मक थिम पनि सञ्चालन गरिरहेको छ । यसअन्तर्गत शोमा आउने अतिथिहरूलाई आफ्नो सिर्जनशीलता र व्यक्तिगत पहिचान प्रस्तुत गर्न प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ । यसका लागि बजाजको स्टल एम१२ मा छुट्टै स्पेसको व्यवस्था गरिएको छ, जहाँ सहभागीहरूले स्प्रे पेन्ट प्रयोग गरेर खाली क्यानभासमा वा मोटरसाइकलमा नै आफ्नो कलात्मक प्रतिभा देखाउन सक्नेछन् ।
FACEBOOK COMMENTS