सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–१ निवासी बलराम न्यौपाने आजभोलि गाई गोठ र बाख्राको खोर स्याहार्नमा व्यस्त छन् ।
बिहान सबेरै उठेदेखि राति अबेरसम्म गोठमा रहेका बाख्रा, गाईभैँसी स्याहार्नु, आहारको जोहो गर्नु र दूध बेच्नु उनको दैनिकी नै हो । समाज परिवर्तनको लागि सुरु गरेको ३० वर्षे राजनीतिक यात्रालाई बिट मारेर विसं २०८० पुसबाट उनले व्यावसायिक पशुपालन सुरु गरेका छन् ।
“विद्यार्थी जीवनबाटै राजनीतिक यात्रा सुरु गरेको हुँ । आठ वर्ष विद्यार्थी राजनीति गरे, वाइसिएल केन्द्रीय सदस्य हुँदै पार्टीको जिल्ला नेता र पछिल्लो समय वैद्य माओवादीको जिल्ला सेक्रेटरी भए । अहिले राजनीतिक रूपमा निस्क्रिय छु । तीस वर्ष राजनीति गरियो तर समाज र आफ्नो अवस्थाजस्ताको तस्तै । हाल व्यावसायिक पशुपालनबाट समाजका केही व्यक्तिहरूलाई रोजगारी दिएको छु । राज्यलाई कर तिरेर योगदानको छु”, उनले भने ।
न्यौपानेले पूर्वपश्चिम राजमार्गबाट सात किलोमिटर उत्तर चुरे पाखामा पशुपालन ‘फार्म हाउस’ सञ्चालन गरेका छन् । सुरुमा पाँच वटा बाख्रा, एउटा गाई र एउटा भैँसीबाट सुरु गरेको फार्ममा हाल ७० वटा बाख्रा, आठ गाई र दुई वटा भैँसी छन् ।
न्यौपानेले देशमा राजनीतिक क्रान्तिले ल्याएका परिवर्तनलाई स्थायित्व दिन पनि अब आर्थिक क्रान्ति आवश्यक रहेको निष्कर्षसहित आफू व्यवसायमा लागेको सुनाए ।
पशुपालनबाट आत्मसन्तुष्टिका साथै आम्दानी पनि सन्तोषजन भइरहेको उनको भनाइ छ ।
गत गढीमाई मेलाको समयमा रु १२ लाखभन्दा बढीका बोका बिक्री गरेको न्यौपानेले सुनाए । यो उनले एकाध महिनामा गरेको सबैभन्दा ठूलो कारोबार हो । “भवितव्यबाहेक कृषि र पशुपालनमा धेरै घाटा हुँदैन । पशु चौपायाको गहँुत र गोबरबाट पनि फाइदा लिन सकिन्छ”, उनले भने,“त्यसैले अब हरेक नेपालीले कृषिमार्फत् आर्थिक रूपान्तरणमा योगदान गर्नुपर्छ । योभन्दा राम्रो विकल्प अर्को हुनसक्दैन । सरकारले पनि सोहीअनुसार नीति अवलम्बन गर्न आवश्यक छ ।”
न्यौपानेले पशुपालनबाहेक केही जमिनमा उखु, टमाटरखेतीलगायत कृषि कर्मसमेत गरिरहनुभएको छ । उहाँले पशुपालन र खेतीपातीबाटै पारिवारको गर्जो टार्दै आएको बताए । “अहिले व्यवसाय सुरु गरेपछि आम्दानीसँगै जीवनस्तरमा सुधार भएको छ । सन्तानको पठनपाठनमा सहज भएको छ”, न्यौपानेले भने ।
उनले गाईभैँसीको करिब ५० लिटर दूध दैनिकजसो बिक्री गरिरहेका छन् ।
राजनीति समाज सेवा भएकाले आर्थिक उपार्जनका लागि हरेक नेताले कुनै न कुनै इलम गर्न जरुरी रहेको पनि उनको भनाइ छ । न्यौपानेले हाल तीन जनालाई रोजगारी दिए । अब व्यवसाय विस्तार गरी चुरेको हावा पानी सुहाउँदो कुखुरापालन गर्ने योजना रहेको उनले सुनाए । साथै पशुपालनबाट दूध, मासुसँगै मलमूत्रबाट बन्ने मल प्रयोग गरेर व्यावसायिक खेतीमा लाग्ने उनले बताए ।
न्यौपानेले चार बिघा पाखामा डाले घाँस रोपेका छन् । व्यवसाय सुरु गर्दा उहाँले भौतिक संरचना निर्माण र केही पशुवस्तु खरिद गर्दा रु ८२ लाख ९० हजार लगानी गरे । हाल सो लगानी रु एक करोड २५ लाख पुगेको छ ।
FACEBOOK COMMENTS