काठमाडाैं । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–२ दमेकका अभिभावकले चन्दा उठाएर बाल विकास केन्द्र सञ्चालन गरेका छन् ।
दमेकको काउले, चौडिल्ला गाउँका अभिभावकले बालबालिकाको सहजताका लागि चन्दा सङ्कलन गरेर बाल विकास केन्द्र सञ्चालनमा ल्याएका हुन् । काउले चौडिल्लामा २०६२ सालमा गैरसरकारी संस्था सेतो गुराँस बाल विकासले स्थापना गरेको केन्द्र जैमिनी नगरपालिकाले तीन वर्षअघि सुन्तलाचौर माविमा स्थानान्तरण गरेको थियो । तीन वर्षदेखि गाउँ नजिक बाल विकास केन्द्र नभएकाले बालबालिकालाई असहज भएको भन्दै गाउँले मिलेर ‘नमूना बाल विकास केन्द्र’ सञ्चालन गरिएको स्थानीय अभिभावक धनबहादुर जिसीले बताए ।
गाउँलेले आफ्नै स्रोतमा एक जना बाल विकास सहजकर्ता नियुक्त गरेका छन् । “पहिले यहाँ नमूना बाल विकास केन्द्र थियो, पछि बालबालिकाको सङ्ख्या निकै कम हुँदा सुन्तलाचौरमा स्थानान्तरण गरियो”, जिसीले भने, “स्थानान्तरणको समयमा चार जना मात्रै बालबालिका थिए, अहिले सङ्ख्या बढेर आठ जना पुगेको छ, पहिले बाल विकास केन्द्र थियो विद्यार्थी थिएनन, अहिले विद्यार्थी छन्, बाल विकास केन्द्र छैन ।” स्थानान्तरणको समयमा बाल विकास केन्द्रका लागि आवश्यक बालबालिकाको सङ्ख्या पुगेमा यथावत रहने गरी स्थानान्तरणको पत्र नगरपालिकाले थमाएको थियो ।
विद्यार्थी सङ्ख्या पुगेपछि वडा कार्यालय र नगरपालिकाको शिक्षा शाखामार्फत बाल विकास केन्द्र पुनः सञ्चालनका लागि स्थानीयले पहल थालेका थिए । शैक्षिक सत्र सकिनै लाग्दासमेत बाल विकास केन्द्र पुनः सञ्चालनमा आउन नसकेपछि तीन महिनादेखि अभिभावककै सक्रियतामा बाल विकास केन्द्र सञ्चालनमा ल्याएको जिसीले बताए। नगरपालिकाले काउले, चौडिल्लामा बाल विकास केन्द्र पुनःस्थापनाको लागि तयारी भइरहेको जनाएको छ ।
“त्यो बेला नमूनामा विद्यार्थी थिएनन, सुन्तलाचौरमा विद्यार्थी थिए तर बाल विकास थिएन, त्यसैले स्थानान्तरण गरियो”, नगर शिक्षा अधिकारी खेम आचार्यले भने, “वडा कार्यालयले बाल विकास सहजकर्ता माग गरेर सिफारिस पठाएको छ, छिट्टै पठाउँछौँ ।” नगर शिक्षा समितिको बैठक बस्न नसकेकाले ढिलाइ भइरहेको आचार्यले बताए । दमेककै जनज्योति बाल विकास केन्द्रमा कार्यरत सहजकर्ता खाली रहेकाले नमूना बाल विकास पठाउने तयारी छ ।
काउले, चौडिल्लाका अभिभावकले यसअघि तीन वर्षसम्म बाल विकास केन्द्रमा जाने विद्यार्थीलाई बोकेर दैनिक आधा घण्टाको बाटोमा सुन्तलाचौर मावि पुर्याउने गरेका थिए । स–साना बालबालिका आफैँ बाल विकास पुग्न नसक्ने भएकाले एक जना अभिभावक उनीहरुसँगै विद्यालय जाने र आउने बाध्यता रहेको थियो ।
FACEBOOK COMMENTS