काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले विकास निर्माणका काम तीव्र गतिमा भइरहेको बताएका छन् ।
आज महानगरअन्तर्गत रहेको वडा नम्बर ८ को नवनिर्मित भवनको उद्घाटन गर्दै प्रमुख शाहले विकास निर्माणका कार्य समयावधिमै सम्पन्न हुने बताए ।
“जसरी यहाँ भवनको मुहार फेरिएको छ, त्यसरी नै यो वार्डकै मुहार फेरिनेमा विश्वस्त छु । पशुपति क्षेत्र आफैँमा सम्पदाको क्षेत्र भएकाले यहाँको घर, बाटाहरू सम्पदामैत्री हुनुपर्छ । यसले हाम्रो सम्पदाको महत्व दर्शाउनुका साथै पर्यटनमा टेवा पु¥याउँछ । यसका लागि हामीले बजेट पनि विनियोजन गरेका छौँ”, प्रमुख शाहले भने ।
महानगर उपप्रमुख सुनिता डङ्गोलले भवन अभावमा सेवा प्रवाहमा भइरहेको कठिनाइ हटेको बताइन् । उनले भनिन्, “आज जसरी हर्षोल्लासका साथ नयाँ भवनको उद्घाटन भएको छ, त्यसरी नै यो भवनबाट निस्किदा सेवाग्राहीको मुहारमा उज्यालो देखियोस् । यति भएपछि मात्र यो भवनले पूर्णता पाउँछ । त्यसैले सेवाग्राहीको समस्यालाई प्राथमिकतामा राखेर काम गर्नुहोला ।”
ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्व बोकेको वडा रहेको भन्दै यसलाई अझैँ आकर्षक बनाउन आग्रह गर्दै उनले देखिएको समस्या र रोकिएको विकास निर्माणका कार्य छिट्टै पुनःनिर्माण हुने बताए ।
वडा नम्बर ८ का अध्यक्ष आशामान सङ्गतले २२ वर्षपछि वडाले भवन पाएको बताए । उनले भने, “पशुपति विकास कोषमार्फत जग्गा पाएपछि धेरै सहयोगी हातका कारण हामी पुनःआफ्नै भवनमा फर्किएका छौँ । यहाँ आउने सेवाग्राहीले पहिलाभन्दा धेरै सेवा सुविधा पाउनुहुनेछ भन्नेमा विश्वस्त हुन् आग्रह गर्दछु । यस वडामा रहेका सांस्कृतिक र ऐतिहासिकस्थललाई अगाडि बढाउन कुनै कसर बाँकी राख्ने छैन ।”
FACEBOOK COMMENTS