काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह मनोनीत भएका छन् ।
आज बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री समेत रहेका शाहलाई वरिष्ठ नेतामा मनोनीत गर्ने निर्णय गरेको पार्टी महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए ।
उनका अनुसार पार्टी विधानको भाग ६ को धारा २२ को उपधारा ११ (ञ) को बमोजिम पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा शाहलाई सर्वसम्मत रूपमा पार्टीको वरिष्ठ नेता मनोनीत गरिएको हो ।
महामन्त्री आचार्यका अनुसार बैठकमा पार्टीको वडा तहदेखि केन्द्रसम्म सम्पन्न प्रथम ऐतिहासिक महाधिवेशनका बहुआयामिक पक्षहरूमा विस्तृत र निर्मम समीक्षा गरिएको छ । लोकतान्त्रिक अभ्यासका क्रममा हरेक तहमा भएका कमी–कमजोरीलाई निसङ्कोच स्वीकार्दै ती अनुभवहरूबाट पाठ सिकेर सिङ्गो पार्टी पङ्क्तिलाई थप परिपक्व र सुदृढ बनाउन सम्पूर्ण प्रक्रियाको बृहत् अध्ययन गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी बैठकले पार्टी विधानको भाग ६ को धारा २३ बमोजिम ‘पार्टी सचिवालय’ गठन गरेको छ । उक्त सचिवालयमा पार्टी सभापतिसहित निर्वाचित पदाधिकारीहरू उपसभापतिद्वय डा स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्री विपिनकुमार आचार्य तथा सह–महामन्त्रीत्रय असिम शाह, हरि ढकाल र निशा डाँगी रहेका छन् ।
बैठकले सरकारमा सहभागी पार्टीका मन्त्रीहरूको कार्यसम्पादनलाई जनमुखी बनाउन र पार्टीसँगको समन्वयलाई प्रभावकारी बनाउन, महिनाको कम्तीमा एक दिन मन्त्रीहरूसँग पार्टी कार्यालयमा केन्द्रीय समिति सदस्यहरूको उपस्थितिमा समसामयिक र बहुआयामिक विषयमा अनिवार्य छलफल गर्ने निर्णय गरेको छ ।