काठमाडौं । काठमाडौं चक्रपथ सुधार योजना र काठमाडौँ महानगरपालिकाबीच कलंकीदेखि वसुन्धरासम्म राखिएका होर्डिङ बोर्डका विषयमा दोहोरी चलिरहेको छ ।
चक्रपथ सुधार आयोजनाअन्तर्गत कंलकी–महाराजगन्ज सडक निर्माण सन् २०१५ मै सक्ने सम्झौता भए पनि अहिलेसम्म नबनेको भन्दै महानगरपालिकाकाले कलंकीदेखि वसुन्धरासम्म सडकका ९ स्थानमा व्यंग्यात्मक कुरा लेखिएको होर्डिङ बोर्ड राखेको थियो । यसप्रति आपत्ति जनाउँदै काठमाडौँ चक्रपथ सुधार योजनाले चैत २ गते सार्वजनिक सूचना जारी गर्दै उक्त बोर्ड ३ दिनभित्र हटाउन चेतावनी दिएको थियो ।
हाल उक्त बोर्ड गायब भएपछि फेरि महानगरपालिकाले बोर्ड हराएको सूचना जारी गरेको छ । त्यति मात्र होइन, मेयर बालेन्द्र (बालेन) शाहले सडकबाट उपत्यकावासीले पाइरहेको सास्तीचाहिँ नेदेख्ने तर त्यही एउटा बोर्ड देख्ने भनेर कटाक्ष पनि गरेका छन् ।
‘२०१५ मा सक्नु पर्ने काम २०२४ लाग्दा समेत सकिएको छैन । छेउछाउका बासिन्दा, रिङरोड प्रयोग गर्नेहरू मात्र होइन, त्यहाँबाट उड्ने धुलोले उपत्यका नै प्रताडित छ । स्थानीयले बोले, संघीय सांसदहरू समेतले पटकपटक आवाज उठाए तर कसैको सुनिएको थिएन । कसैको दुःख हेरिएको थिएन । काठमाडौँ महानगरपालिका भित्रको भएर हामीले पनि पटकपटक ध्यानाकर्षण गराउने र आफ्नो कार्यक्षेत्रभित्र पर्ने त्यो सम्बन्धित कामहरू गरेर सहयोग गर्ने गरेका नै हौँ । तर निर्माण कार्य शंखेकीराको गतिमा रह्यो । त्यही जानकारी दिन बोर्ड राखेका थियौँ’, मेयर शाहले सार्वजनिक सूचनासहित सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यत्रो आवाज नसुन्ने र त्यत्रो दुःख नदेख्ने निर्माणकर्ताहरूले ती १० फिट लामो र ५ फिट चौडा भएका बोर्डचैँ देखेछन् । समय सकिएको ९ वर्षपछि पनि काम नसक्ने संस्थाले ‘कथित अल्टिमेटमको समय’ सकिनेबित्तिकै बोर्ड निकालेर फ्यालेछन् । अनि आफ्नो देशमा १ दिनमा अस्पताल बनाउनेले कूटनैतिक नोट लेखेछन् ।’
FACEBOOK COMMENTS